निजगढ,काठमाडौंको बुढानिलकण्ठमा कुटपिट गरी हत्या गरिएका निजगढ नगरपालिका– ७ का कृष्ण लामाको परिवारका सदस्यहरुले घटनामा संलग्न मुख्य दोषिहरुलाई प्रहरीले उन्मुक्ति दिन खोजेको आशंका गरेका छन ।

पीडित परिवारका सदस्यहरुसंग भेट गर्न बुधवार निजगढ आइपुग्नुभएका बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीसंग कुरा गर्दैै मृतककी आमा पूर्णमाया थिङ्गले घटनाका सबै दोषिमाथि काराबाहीको माग गर्नुभएको हो । संसद मैनालीले निजगढ ७ औतारटोलस्थित मृतकको घरमै पुगेर पीडित परिवारसंग भेटघाट गर्नुभएको थियो ।
हत्या अभियोगमा पक्राउ परेका मध्ये विकास लामा लोलाई मात्रै अपराध स्वीकार गर्न लगाएर अन्यलाई उन्मुक्ति दिने कोसिस भइरहेको पूर्णमायाको भनाई थियो । ‘घटनामा संलग्न मुख्य अभियुक्तहरुलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्ने सूचना पाएका छौं, उहाँले भन्नुभयो, तर अब छोराको फर्केर नआएपनि दोषिले भने उन्मुक्ति पाउनुहुदैन ।’ उहाँले साथीको बहिनीको जन्मदिन मनाउन घरमा बोलाएर आफ्नो छोराको नियोजित र संगठित तवरले हत्या गरिएको पनि बताउनुभयो ।
पीडित परिवारका सदस्यहरुको गुनासो सुनेपछि सांसद मैनालीले प्रहरी वृत्त महाराजगंज काठमाण्डौंका प्रहरी नायब उपरीक्षक निरञ्जन थापासंग मोबाइलबाट फोन गरेर घटनाको निष्पक्ष र विस्तृत अनुसन्धान गर्न आग्रह गर्नुभएको थियो । प्रहरीसंगको फोन सम्वादपछि सांसद मैनालीले परिवारका सदस्यहरुलाई प्रहरीले हाल घटनाको अनुसन्धान गरिरहेको र दोषि देखिएका सबैमाथि कारबाही हुने आश्वासन पनि दिनुभएको थियो ।

मैनालीले इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेसंग पनि बुधवार साँझ भेटेर काठमाण्डौं प्रहरीले गरिरहेको अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराइदिन आग्रह गर्नुभएको थियो ।सांसद मैनालीसंगै निजगढ नगरपालकाकी उपप्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष टेकबहादुर लामा, एमाले मधेस कमिटी सदस्य सुदर्शन कोइराला, लिलादेबी लामिछानेलगायत एमाले कार्यकर्ताहरु मृतक परिवारको घरमा पुगेका थिए ।

गत असार ६ गते निजगढ ७ का जितबहादुर तामाङको ३२ वर्षीय छोरा कृष्णको काठमाण्डौंको बुढानिलकण्ड नगरपालिका– ५ टुसालको एक घरमा कुटपिट गरी हत्या गरेको आरोपमा निजगढका २ जना सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बारा निजगढ नगरपालिका– ७ का २९ वर्षीय सुगन्ध लामा, निजगढ नगरपालिका– ५ का १८ वर्षीय सौगात क्षेत्री, मकवानपुरको बकैया गाउँपालिका– २ का २३ वर्षीय निसान जिम्बा र मकवानपुर घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका– ५ टुसाल बस्ने ३२ वर्षीय विकास लामा लोलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Leave a Reply