निजगढ,सरकारी अनुदानको रसायनिक मलको अभाव भएपछि बारा जिल्लाका किसान अवैधरुपमा भारतबाट भित्रिएको न्यूनगुणस्तीय युरिया मल महंगोमा खरिद गरेर प्रयोग गर्न बाध्य भएका छन ।गहुँ, मकै र केराबालीमा छर्ने सिजनमा सरकारी अनुदानको रसायनिक मल प्रयोग गर्न नपाएका जिल्लाका अधिकांश किसानहरु यस वर्षको धान रोपाइँमा पनि भारतीय मलमा निर्भर हुनुपर्ने अवस्था छ ।
नेपाली अनुदानको मल नपाइएपछि किसानहरु भारतीयबाट अवैधरुपमा भित्र्याइएको कमसल मल बढी मूल्य तिरेर किन्न बाध्य भएको कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताउनुभयो ।
‘अनुदानको युरिया मल प्रतिबोरा ८ सयदेखि ९ सयमा पाइन्थ्यो, किसान पटेलले भन्नुभयो, तर भारतीय मलमा १ हजार ४ सय रुपैयासम्म तिर्नु परेको छ ।’ कमसल नै भएपनि सहजरुपमा उपलब्ध भएपछि जिल्लाका अधिकांश किसानले भारतीय मल प्रयोग गर्दै आएको उहाँको भनाई छ । ‘राम्रो काम त गर्दैन, तर पनि प्रयोग गर्न बाध्य छौंं ।’ पटेलले भन्नुभयो । नेपाली अनुदानको मल जस्तो चाढै नलाग्ने र भारतीय युरियाले बाली पनि राम्ररी नसप्रिएको पटेलको अनुभव छ ।
भारतबाट तस्करी गरेर ल्याइएको रसायनिक मल जिल्लाका सबै प्रमुख बजारमा पर्याप्त मात्रामा पाइने कलैयाका अर्का स्थानीय किसान शिब यादवले बताउनुभयो । ‘सानादेखि ठूला बजारमा छ्यापछ्याप्ति पाइन्छ, यादवले भन्नुभयो, मलको कारोबार गर्नेहरुले सीमा नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई मिलाएर मल नेपाल भित्र्याउने गरेका छन ।’ उहाँका अनुसार भारतबाट मल ल्याउने कार्यमा यतिबेला जिल्लाका दर्जनौं व्यवसायीहरु सक्रिय छन । उनीहरुले सीमा क्षेत्रका मान्छेहरुलाई भाडामा खटाएर मोटरसाइकल र साइकलमा राखेर मल ल्याउन लगाउने गरेका हुन ।
कारोबारीहरुले भारतमा प्रतिबोरा १ हजार नेपाली रुपैयामा पाइने मल नेपाल ल्याएर खुद्रा व्यापारीलाई १ हजार २ सयमा बेच्ने र व्यापारीले थप २ सय फाइदा लिएर किसानलाई बिक्री गर्ने गरेको पनि उहाँले सुनाउनुभयो ।
सिम्रौनगढ कचोर्वाका किसान रामइकलाल यादव भने जेजस्तो र जसरी आएको भएपनि भारतबाट भित्र्एिको मलले सीमा क्षेत्रका किसानको खेति चलेको बताउनुहुन्छ । ‘कमसल नै भएपनि किसानले प्रयोग गर्न पाएका छन, उहाँले भन्नुभयो, त्यो पनि नभैदिएको भए खेती गर्न नपाएर किसानको बिचल्ली हुने थियो ।’ उहाँले सरकारको नालायकीपनले चाहिएको बेलामा मल नपाएर नेपालका किसान सधै समस्यामा पर्ने गरेको बताउनुभयो ।
जिल्लाको कलैया, कोल्हबी, सिम्रौनगढ, कचोर्वा, पिपरपाती, कबहीगोड, मटिअर्वा, मुसहर्नालगायतका नाकाबाट दैनिक ठूलो परिमाणमा मल नेपाल भित्र्निे गरेको बताइएकोछ । कारोबारीले सीमा क्षेत्रमा खटिएका नेपाल तथा भारतका सुरक्षाकर्मीहरुलाई समेत रकम दिएर मिलाएको र कारोबार चलाउदै आएका हुन ।



















