निजगढ,नेपालका पहिलो शहीद लखन थापा मगरको निजगढमा शालिक राखिने भएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित योजना चोकमा वडा कार्यालयको सहयोग र स्थानीयको पहलमा लखन थापाको अर्धकदको शालिक राख्न लागिएको हो । योजनामा रहेको पुरानो चौतारोको मर्मत सम्हारसंगै शालिक पनि राख्न लागिएको निजगढ नगरपालिका वडा नम्बर ७ का वडा समिति सदस्य बुद्धिबहादुर मगरले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयको चन्दा दान र वडा कार्यालयको आर्थिक सहयोगमा चौताराको मर्मत सम्भार गरेर पहिलो शहीद थापाको अर्धकदको शालिक राखिने छ । शालिकको गत बिहीवार एक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ ।

नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नम्बर. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । उहाँको वास्तविक नाम लक्ष्मणसिंह थापा थियो ।त्यतिवेला नेपालमा सर्वसाधारण जनताहरुले औपचारिक शिक्षा हासिल गर्न कुनै व्यवस्था नभएकाले लखन थापाले तेश्रो गोरखा राइफल्समा कार्यरत नातेदारको फेमिली क्वार्टरमा बसेर भारतको अलमोडामा शिक्षा हासिल गरी नेपाल फर्किएपछि वि.सं. १९११ मा पुख्र्यौली मगर पल्टन (पुरानो गोरख पल्टन) मा भर्ना हुनुभएको थियो ।सो समयमा नेपाली जनताहरु जंगबहादुर राणाद्वारा सुत्रपात गरिएको निरंकुश जहाँनिया शासनको जाँतोमुनि पिल्सिएर बस्नुपरेको थियो । जंगबहादुरको अधिनायकवादी हुकुमी शासन विरुद्ध कोही कसैले ‘चुँ’ सम्म गर्नसक्ने स्थिति थिएन ।
नेपालमा जंगबहादुरको निरंकुश शासन रहेको बखत भारतमा अंगे्रजको औपनिवेशिक शासन कायम थियो । १० मे १८५७ ई.सं. को मेरठ गोलीकाण्डपछि भारतमा अंग्रेज उपनिवेशको विरुद्धमा सैनिक विद्रोहको जन्म भयो ।
भारतीय स्वतन्त्रताको पक्षमा भएको विद्रोहले उग्ररुप लिएपछि भारतीय– अंग्रेज सरकारले सैनिक सहायताका लागि नेपालका प्रधानमन्त्री जंगबहादुर राणालाई पत्र लेख्यो ।
टेकबहादुर खत्रीद्वारा लिखित नेपालको सैनिक इतिहास पुस्तकमा लेखिए अनुसार ई.सं. १८५७ डिसेम्बर १० का दिन जंगबहादुर राणा स्वयम् २७ वटा नेपाली पल्टनको नेतृत्व गर्दै नौ हजार नेपाली सैनिकका साथ भारत प्रस्थान गरेका थिए । १० मार्चका दिन जंगबहादुर आफ्नो फौजसहित भारतको लखनउ शहर पुगेको भोलिपल्टदेखि नै अंगे्रज र नेपाली संयुक्त फौजले लखनउका विभिन्न स्थानमा फौजी कारबाही संचालन गरी भारतीय स्वतन्त्रताका निम्ति विद्रोह गर्नेहरुमाथि निर्ममतापूर्वक दमन ग¥यो ।पुरानो गोरखा पल्टनसंगै लखनउ पुगेका लखन थापा मगर लगायत स्वभिमान नेपाली सैनीकहरु उक्त घटनाबाट क्षुब्ध बनेका थिए । जंगबहादुर राणाले भारतीय जनताद्वारा स्वतन्त्रता प्राप्तिका खातिर गरिएको आन्दोलनलाई दवाउन भारतीय अंग्रेजलाई सहयोग गरेकाले त्यतिवेला नै ‘जंगबहादुरले नेपाल म्लेच्छ (अंग्रेज) लाई बेच्यो भनी लखन थापाले उद्घोष गर्नुभएको थियो ।
स्वतन्त्रताको निम्ति भारतीय जनताहरुले गरेको कठिन संघर्ष र शहादतले मगर लगायतहरुबाट राष्ट्रभक्तिको भावना जागृत भई जंगबहादुरको अत्याचारी शासन विरुद्ध संघर्षमा उत्रने दृढता पनि पैदा गरेको थियो । जनविद्रोहको लागि उपयुक्त समयको पर्खाइमा रहनुभएका लखन थापामगर आफ्नो सैन्य सीप र कौशलका कारण वि.सं. १९२५ मा नेपाली सेनाको क्याप्टेन भइक्नुभएको थियो । तर पनि उहाँलाई नेपाली सेनाको जागिर जंगबहादुरको विरुद्ध विद्रोह गर्नको लागि वन्धन महसुस भएकाले पद र भौतिक सुविधाको कुनै प्रवाह नगरी वि.सं. १९२७ सालमा आफ्ना मित्र जयसिंह चुमीलाई साथमा लिई घर विदा लेखाएर सेनाको जागिर छाडी गोरखाको बुंकोट काहुले भंगारमा आउनुभएको थियो ।
थापा त्यसपछि जागिरमा फर्किनुभएन र जंगबहादुरको शासन विरुद्ध जनताहरुलाई संगठित बनाउने कार्यमा सक्रियतापूर्वक लाग्नुभयो । गोरखाको वुंकोट काहुले भङ्गारमा लखन थापा मगरले स्थानीय जनसमुदायको सहयोगमा एउटा बलियो किल्ला निर्माण गर्नुभएको थियो । किल्ला परिसरमा मनकामना माईको प्रतिकात्मक मन्दिर स्थापना गरिएको थियो ।मन्दिरमा दिनहूँ पूजापाठ हुने गर्दथ्यो । लखन थापाले मन्दिरमा पूजापाठका निम्ति आएका जनताहरुलाई एकतावद्ध गरी जंगबहादुरको क्रुर शासन एवम् जनविरोधी कर्तुतहरुको बारेमा जानकारी गराउने र राजनीतिक चेतना प्रदान गर्ने कार्य गर्नुहुन्थ्यो । बाहिरी रुपमा धार्मिक कार्य भइरहेको भनी प्रचार गरिए पनि भित्र भित्रै अत्याचारी शासन विरुद्ध जनमिलिसिया तयार गर्ने काम जोडतोडले भइरहेको थियो ।
लखन थापाको सुमधुर बोलीबचन, तार्किक क्षमता र असल व्यक्तित्वले गर्दा छोटो समयमानै राणा शासनविरुद्ध धेरै जनताहरु संगठित भइसकेका थिए । त्यतिवेला संगठित जनतासामु उहाँले भन्नुहुन्थ्यो– ‘म सिद्ध लखन थापाको अवतार हुँ । जंगबहादुरले नेपाल म्लेच्छ (अंगे्रज)लाई बेच्यो । दुनियाँलाई त्राही–त्राही पारिरहेको छ । जंगबहादुरलाई हटाएर नेपालमा सुनौलो प्रजातान्त्रिक युग फिराउ भनी मनकामना माताले मलाई आज्ञा दिनुभएको छ, लौ भाई हो तयार होऔँ ।’ उहाँको यस्तो उद्घोषले जंगबहादुरको दमन, अत्याचार र अन्याय विरुद्ध संगठित रुपमा आवाज वुलन्द गर्न जनताहरुलाई उत्पे्ररित गरेको थियो ।
त्यतिवेला धर्म र देवी देवताप्रति आस्था र विश्वास प्रकट गर्ने तत्कालिन नेपाली समाजलाई जनविद्रोहको वृहत अभियानमा सरिक गराउन मनकामनाको प्रसिद्धिलाई पनि रणनीतिक रुपले उपयोग गरिएको थियो । लखन थापाको उक्त रणनीतिक उद्घोषले नेपाली समाजमा गहिरो प्रभाव पार्न सक्यो र राणा शासन विरुद्धमा ठूलो जनमत सिर्जना गर्न सफलता प्राप्त ग¥यो । मनकामना र सिद्ध लखन थापाको प्रसिद्धिलाई आफ्नो विद्रोही अभियानमा जनसमर्थन जुटाउन शहिद लखन थापाले रणनीतिक रुपमा प्रयोग गर्नुभएको थियो ।
एउटै नाम र थर भएका दुई जना लखन थापा मगर नामका व्यक्तित्वहरु नेपालको इतिहासमा चर्चित भएकाले नेपालीसमाजमा उनीहरु एकै व्यक्ति हुन् कि भन्ने भ्रम र अन्यौलता समेत रहेको पाइन्छ । तर उनीहरु फरक फरक व्यक्तित्व रयोगदानको कारणले नेपालको इतिहासमा प्रख्यात रहेका छन् ।मनकामना भगवतीको मन्दिरका प्रथम पुजारी सिद्ध लखन थापा मगर सत्रौं शताब्दीका राम शाहकालिन व्यक्ति हुनुहुन्थ्यो । त्यसैगरी जंगबहादुरको निरंकुशता विरुद्ध प्रथम जनविद्रोहको ज्वारभाटा सिर्जना गर्ने प्रथम शहिद लखन थापामगर उन्नाइसौं शताब्दीका जंगबहादुरकालिन व्यक्तित्व हुनुहुन्थ्यो ।
वि.सं. १९३२ सालमा जंगबहादुरको शासनविरुद्ध एकतावद्ध जनसमुदायले लखन थापालाई प्रधानमन्त्री र जयसिंह चुमीलाई सेनापति घोषणा ग¥यो । यो नै राणाहरुको सत्ता विरुद्ध पहिलो विद्रह थियो ।जंगबहादुरको अन्त्य गरेर नेपालको शासन अधिकार हातमा लिई नेपालको इतिहासमा सुनौलो प्रजातान्त्रिक युग आरम्भ गर्ने लखन थापाको योजना थियो । तत्कालिन समयमा सर्वजित थापा क्षेत्री पिपलथोकमा बसेर गोरखाको मुद्दामामिला हेर्दथे । उनले गोरखाको बुङ्कोटमा राणा शासन सत्ता विरुद्ध लखन थापाको नेतृत्वमा सशस्त्र जनविद्रोहको तयारी भइरहेको उजुरी जंगबहादुर समक्ष जाहेर गरेका थिए । यो सूचना पाएपछि लखन थापा लगायत उनका सहयोगीहरुलाई पक्रेर काठमाण्डौँ ल्याउन भनी कान्छा भाइ धीर शमशेरलाई जंगबहादुरले आदेश दिएका थिए । देवीदत्त पल्टनका सैनिकहरु गोरखा पुगेर लखन थापाको किल्लालाई चारैतिरबाट घेरा हाले । देवीदत्त पल्टन र लखन थापाको नेतृत्वको विद्रोही सेनाबीच भिडन्त भयो । त्यो विद्रोह दवाउन धीर शमशेरलाई पनि हम्मेहम्मे परेको थियो । अन्तमा विद्रोहीहरु पक्राउ परे । उनीहरुलाई बाँसको पिंजडामा कैद गरी यातनापूर्वक काठमाडौँ पु¥याईयो ।
इतिहासकार प्रमोद शमशेर राणाका अनुसार विद्रोहीहरु विरुद्ध थापाथली दरबारमा मुद्दा चलाइयो साथै वर्वरतापूवर्क कोर्रा हानी ठूलो यातना दिइयो । लखन थापा र उनका सहयोगीहरुलाई गोरखा बुंकोटस्थित उनीहरुकै किल्ला परिसरको मनकामनामन्दिरअगाडि स्थानीय जनसमुदायको उपस्थितिमा झुण्ड्याएर मार्ने फैसला भयो । तर राणा शासक सामुु उनीहरु झुकेनन् ।लखन थापालाई राणाशासन विरुद्ध जनताहरुलाई राजनीतिक चेतना प्रदान गरेर जनसंगठन गरी राणातन्त्र विरोधी गतिविधि गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो । देवीदत्त पल्टनका सैनिकहरुले मृत्युदण्ड सुनाइएका विद्रोहीहरुलाई गोरखा पु¥याए ।वि.सं. १९३३ फागुन २ गते सबैभन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसरभित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । सँगसँगै अन्य विद्रोहीहरुलाई पनि बलीमा चढाईयो । विद्रोही नेता लखन थापालाई त छाला समेत काढेर वर्वरतापूर्वक झुण्ड्याइएको थियो ।
नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापाको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो । जुन विद्रोहले राणाद्वारा स्थापित एकतन्त्रीय तानाशाही शासनको अँध्यारो कालरात्रीमा अधिकार विहिन अवस्थामा पिल्सिरहेका नेपाली जनताहरुलाई संगठित र राजनीतिक सचेतना प्रदान गरी पहिलो पटक प्रजातन्त्र प्राप्तिको विद्रोहमा सहभागी गराउने सफलता प्राप्त ग¥यो ।यस घटनाले नेपाली समाजमा राजनैतिक चेतनाको दियो बाल्ने र प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गरेको थियो ।त्यसैले विद्रोहका नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उहाँलाई वि.सं. २०५६ मा शहिद घोषणा ग¥यो भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।


















