वीरगन्ज,आफ्नै पतिबाट एसिड पीडित बनेकी जनकपुरकी आरती साहलाई प्रदेश २ सरकारले ५ लाख रुपैया सहयोग उपलब्ध गराएको छ । आरतीलाई बिहीबार मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । साउन २९ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले आरतीलाई ५ लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा कोठा भाडामा लिएर बस्दै आएकी २१ बर्षीया आरतीलाई उनकै पति २४ बर्षीय संजिबले गत कात्तिक २९ गते कोठामै आएर एसिड प्रहार गरेका थिए । एसिडले आरतीको शरीरको झण्डै आधा भाग जलेको छ भने एउटा आँखाले नदेख्ने समस्या भएको छ । संजिबले पत्नी आरतीसंगै ३ बर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए । आर्थिक अभावकै कारण हालसम्म आफ्नो उपचार हुन नसकेको आरतीले गुनासो गर्दै आउनुभएको छ ।
यसैबीच आरतीमाथि एसीड फयाल्ने उहाँका पति सन्जिबलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै अदालतले पीडित आरतीलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ । गत साउन २५ गते धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका साहलाई अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिनुभयो । साउन २५ गते न्यायाधीश शिवाकोटीकै इजलासले एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिएको थियो । एसीड बेच्नेलाई सफाइ दिएपछि आरती जिल्ला अदालतमै गएर यसको बिरोध गर्न खोज्दा प्रहरीले उहालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगेर छाडेको थियो ।