गण्डकी,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।”भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको जिकिर गर्दै उहाँले थप तीव्रताका साथ अघि बढ्ने बताउनुभयो ।“बजेट पास होला कि नहोला भन्ने तरङ्ग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो– “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस रहेको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।”अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उहाँको भनाइ थियो । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताउनुभयो । “भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्नु ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उहाँले भन्नुभयो ।पारवाहन सन्धि पुनरावलोकन महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताउनुभयो । यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने जिकिर गर्दै उहाँले यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गर्नुभयो ।राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराउनुभयो । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उहाँको भनाइ थियो । हवाईमार्गका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने जिकिर गर्दै उहाँले चीन जाँदा पनि यस विषयमा छलफल हुने बताउनुभयो । भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको जिकिर गर्दै उहाँले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताउनुभयो ।पोखरामा शुक्रबार सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उहाँले बताउनुभयो । त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताउनुभयो । तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वका रहेका प्रधानमन्त्री दाहालले बताउनुभयो । रासस















