नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघले निर्वाह गरेको भूमिका निकै प्रंशंसायोग्य छ ।हाल सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले संचालन गरेको सशस्त्र संघर्षका क्रममा नेपालमा भएको जनधनको क्षतिको विषयमा पनि राष्ट्रसंघ गम्भीर थियो । संयोगले आज माओवादीका अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री भएका बेला नै उहाँकै निमन्त्रणमा राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेस नेपाल भ्रमणमा आउनुभयो अनि मंगलबार सदनमा संबोधन पनि गर्नुभयो ।सदनमा संबोधन गर्ने क्रममा उहाँले उठाएका विषयबस्तु भने नेपाल सहित बिश्वभर नै शान्ति स्थापनाका लागि महत्वपूर्ण हुने देखिन्छ । यद्यपि राष्ट्रसंघप्रति सबैको बिश्वास भने कम भएको देखिन्छ । अहिले लडाइ भइरहेका स्थानहरु इजरायल, युक्रेन लगायतका स्थानमा राष्ट्रसंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न नसकेको भन्दै उसको आलोचना पनि भइरहेको छ ।नेपालको सदनमा बोलेर गुटेरेसले सायद लडाइ भइरहेका देशहरुमा पनि यही सन्देश दिन चाहेको जस्तो देखिन्छ ।शान्ति स्थापनाका लागि राष्ट्रसंघको भूमिका महत्वपूर्ण हुन्छ नै तर उसले आफ्नो शान्तिको सवालमा अझै पनि सक्रियता बढाउन आवश्यक देखिएको छ । बिश्वका कयौं स्थानमा भइरहेका युद्ध रोक्नका लागि राष्ट्रसंघले अझै भूमिका प्रभावकारी बनाउन आवश्यक देखिन्छ । नेपालको सवालमा ढिलै भएपनि उसले लिएको शान्तिको अग्रसता बिश्वका लडाइ भएका देशमा लिए धेरैको ज्यान जोगाउन सकिने थियो कि ?