बाराको निजगढ नगरपापालिकामा पछिल्लो समय रमिता देखियो । मन्त्रालयको नियमित सरुवामा परेका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले मन्त्रालयको सरुवा निर्णय उल्टाउदै फेरि निजगढमा नै फर्किने प्रयास गरेपछि नगरपालिका कार्यालयमा रमिता देखिएको थियो र जसको सिधा असर नगरपालिकाको काम कारबाहीमा पनि देखिएको थियो ।

लामो रस्साकस्सीपछि निजगढमा अब प्रमुख प्रशासकीय अधिकृतको टुङ्गो लागेको छ । मन्त्रालयले पछिल्लो पटक सुमन धिताललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा निजगढमा खटाएको छ । धितालले बुधवारबाट कार्यालयको कामकाजसमेत सम्हालिसक्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृत कार्कीको सरुवा भएपछि मन्त्रालयले हरिलाल पुरीलाई निगगढ खटाएको थियो । तर कार्कीले कार्यालयमा आएर हाजिर गर्न मात्रै के भ्याएका थिए, राजनितिक पहुँचको आडमा कार्कीले आफ्नो सरुवा थमौति गर्नुभयो । उनलाई मन्त्रालयले निजगढबाट बाराको पचरौता नगरपालिकामा सरुवा गरेको थियो । तर निजगढ नगरपालिकाका कार्यपालिका सदस्यहरु भने त्यतिबेलासम्म २ पक्षमा विभाजित भइसकेका थिए । नगर प्रमुख सुरत पुरी र उपप्रमुख सोममाया थिङ्गसहित केही कार्यपालिका सदस्यहरु मन्त्रालयको सरुवा निर्णय उल्टाउदै कार्यालयमा फर्किन लाग्नुभएका कार्कीलाई हाजिर नगराउने पक्षमा उभिए भने कार्यपालिकाका बहुमत सदस्यहरु मन्त्रालयको सरुवापत्र लिएर आएका कार्कीलाई नै हाजिर गराउनुपर्ने पक्षमा थिए । सत्तागठबन्धन कांग्रेश र माओवादीबाट कार्यपालिकामा निर्वाचित सदस्यहहरुले आफूहरु मन्त्रालयको निर्णयको पक्षमा रहेको दाबी गरेका थिए ।

एमालेबाट निर्वाचित मेयर पुरी र उपमेयर थिङ्ग भने कार्कीको सरुवा भएपछि आएका अधिकृत पुरीलाई काम गर्न दिनुपर्ने अडानमा रहेका थिए । यसैक्रममा मेयर पुरी, उपमेयर थिङ्ग र प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकक्षमा गरिएको तालबन्दीले नगरपालिका करिव १ महिनासम्म ठप्प बनेको थियो ।

निजगढको प्रमुख प्रशासकीय अधिकृतमा सुमन कुमार धिताल आएसंगै अब धेरै समस्या समाधान भएको विश्वास गर्न सकिन्छ । तर कर्मचारीलाई राजनीतिमा मुछेर आफूलाई सफल बनाउने प्रयास गर्नुुभन्दा पनि जनप्रतिनिधिहरुलेआपसमा मिलेर जनताको सेवा गर्नुपर्दछ । बाराको निजगढबाट मधेशका अन्य पालिकाहरुले पनि धेरै कुरा सिक्न जरुरी छ । अब सेवा सहज होस् नगरबासीको चाहना यत्ति हो ।

Leave a Reply