अब मुलुक चुनावमय भयो भन्दा फरक नपर्ला । देशभर मनोनयनको काम सकिएपछि चुनाव शुरु भएको हो र अहिले उम्मेदवारहरुले चुनाव प्रचारप्रसारको रणनीति तयार पार्न व्यस्त बनेका छन । यसले पनि अब देश चुनाव मय भएको सिधा विश्लेषण गर्न सकिन्छ ।
विशेष परिस्थितिमा हुन लागेको यसपालिको चुनावको पनि विशेष खालकै अर्थ छ । यसपालिको चुनावमा बिगतका केही अभ्यासहरु तोडिएको छ । केही ठाउँमा वषौंदेखि चुनाव उठ्दै आएकाहरु विश्राम लिएका छन् भने केही ठाउँमा उनीहरु नै उठेको भए पनि नयाँहरुले चुुनौती दिएका छन् ।

नेपालमा मुख्यतः नयाँ वा जेनजी पुस्ताको राजनीतिमा खासै आकर्षण थिएन । उनीहरु राजनीतिमा लाग्छन् भन्ने पनि थिएन । युवा पुस्ता त पैसा कमाउन लाग्ने हो राजनीतिमा लाग्ने होइन भन्ने पनि थियो तर गत भदौमा भएको आन्दोलनले भने धेरै कुरा परिवर्तन गरिदियो र जेनजी पनि राजनीतिका लागि आवश्यक छ भन्ने कुरा आन्दोलनले नै स्थापित गरेको छ र अहिले यो पुस्ता पनि चुनावी मैदानमा उत्रिएको छ । अघिल्लो चुनावसम्म यसो सांठगाँठ गरेर चुनाव जित्ने दाऊमा रहेकाहरुलाई यसपालि नयाँले चुनौती दिएका छन् ।एमालेको सवालमा यो कुरा खासै लागू नहोला । एकाध ठाउँमा बाहेक अघिल्लो पटक पनि एमाले चैं एक्लै उठेको थियो तर अरुका लागि यो कुराले निकै महत्व राख्छ । किन भने अहिले सबै दल एक्लाएक्लै भिडेका छन ।

जे भएपनि चुनावी मैदानमा अब खेल शुरु भइसकेको छ, जीत हार जनताकै हातमा छ । तर यसपालि हरेक ठाउँमा पुराना उम्मेदवारलाई नयाँले नै चुनौती दिइरहेका छन् र पुरानाका लागि यतिबेला नयाँ नै चुनौति बनेर देखिएका छन । यो चुनावलाई धेरैले नयाँ र पुरानाबीचको प्रतिस्पर्धाको रुपमा पनि लिएकाछन । तर मतदाताले कसरी मतदान गर्ने हुन त्यो हेर्न भने केही दिन कुर्नुपर्ने हुन्छ ।

 

Leave a Reply