काठमाण्डौं,इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका बेला नेतान्याहुले युद्धविराम गर्न अस्वीकार गर्नुभएको हो । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उहाँले अहिले युद्धको समय रहेको बताउनुभएको छ । उहाँले जसरी सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिका युद्धविरामको लागि तयार भएको थिएन अहिले इजरायलको अवस्था पनि उस्तै रहेको बताउनुभयो ।प्रधानमन्त्री नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा लगत्तै इजरायली सेना स्थलमार्गबाट गाजाको मध्य क्षेत्रमा पुगेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म आठ हजार तीन सय ६ जनाको ज्यान गइसकेको छ ।गाजामा ज्यान गुमाउनेमध्ये तीन हजार तीन सय २४ जना बालबालिका रहेका छन् । इजरायतर्फ एक हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । इजरायलले स्थलगत कारबाही बढाएपछि गाजा क्षेत्रमा मानवीय क्षतिको जोखिम झन् बढेको छ ।