निजगढ,बाराको कलैया उपमहानगरपालिकाको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्या घटनामा प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले आधिकारिक रुपमा खुलासा नगरे पनि प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको निष्कर्ष छ ।‘घटनाको अनुसन्धान जारी रहेकोले अहिले नै हत्याको कारण यहि हो भनेर भनिहाल्ने समय भएको छैन, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले भन्नुभयो, पत्रकार सम्मेलनमार्फत बुधवार घटनाको सबै विवरण उपलब्ध गराइने छ ।’ पत्रकार सम्मेलनको तयारीले प्रहरी अनुसन्धानको निष्कर्षमा पुगिसकेको अनुमान गरिएको हो । घटनामा प्रेमसम्बन्धको कारण पनि जोडिएको प्रवक्ता न्यौपानले बताउनुभयो ।प्रहरीले पुष्टि गरिनसकेको भएपनि प्रिन्सिपल सर्राफको हत्यामा उनकै प्रेमिका र प्रेमिकाका अर्का ब्वाइफ्रेण्डको संलग्नता रहेको बताइएको छ । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा सर्राफको हत्याको प्रेम सम्बन्धंसंग जोडिएको देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन ।प्रहरीका अनुसार प्रिन्सिपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । सर्राफकै स्कुलकी पूर्वकर्मचारी समेत रहेकी ती महिलाका अर्का ब्वाइफ्रेण्डले सर्राफको हत्या गरेका हुन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सर्राफकी प्रेमिका भनिएका महिला र उनकी अर्का केटा साथीसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले दिएको बयानको आधारमा प्रहरीले घटनाको निष्कर्ष नजिक पुगेको हो । उनीहरु मध्ये ५ जना भारतीय नागरिक छन । सर्राफलाई गोली हान्न भारतीय नागरिकहरुको पनि प्रयोग गरिएको बताइएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार सर्राफसँग प्रेममा रहेकी महिला अर्का एक जना पुरुषसँग पनि रिलेसनसीपमा थिइन् । ती पुरुषले सर्राफलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार दबाब दिँदै आएका थिए । तर, सर्राफले उनको प्रस्ताव अस्वीकार गर्दैआएका थिए ।महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते पनि सर्राफलाई गोली हान्ने प्रयास गरेका थिए तर त्यतिबेला उनीले भागेर ज्यान जोगाएको पनि बताइएको छ ।सर्राफ हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकी महिलाले अर्का प्रेमीले कि आफूलाई मार्ने कि सर्राफलाई मार्ने धम्की दिएपछि आफूले सर्राफको हत्या गर्न सहयोग गरेको बयान प्रहरीलाई दिएकी छन् ।सोमवार दिउँसो साढे १२ बजेतिर स्कुल नजिकै सडकमा मोटरसाइकलमा घरतर्फ जाँदै गरेका सर्राफमाथि भारतीय नम्बर प्लेटका दुई वटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिहरूले गोली चलाएका थिए ।३५ वर्षीय सर्राफको घाँटी, टाउको र छातीमा गरी तीन राउन्ड गोली लागेको थियो । गोली लागेर घाइते भई ढलेका उनलाई स्थानीयले उद्धार गरी कलैयास्थित प्रादेशिक अस्पतालमा पु¥याएका थिए । त्यहाँ उनलाई प्राथमिक उपचार गरी वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा हस्पिटलमा लागिएको थियो । त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा पोष्टमर्टम सकेपछि मंगलवार पसाहा नदीको जमुनियाघाटमा अन्त्येष्टि पनि गरिएको छ ।
हत्या विरोधमा मधेसका विद्यालय बन्द
कलैया,प्रिन्सिपलको गोली हानी हत्या भएको घटनाको विरोधमा मंगलवार मधेस प्रदेशका सबै निजी विद्यालय बन्द गरिएको छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) मधेस प्रदेशको आह्वानमा प्रदेशका ८ वटै जिल्लाका सबै निजी विद्यालयमा मंगलवार पठनपाठन बन्द गरेको हो ।प्याब्सनले विज्ञप्ति जारी गर्दै दिनदहाडै विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या हुनु प्रहरी नीरिह रहेको प्रमाणित हुने बताउँदै घटनाको भ्रत्सना गरेको छ । प्याब्सनले हत्यामा संलग्नलाई यथाशिघ्र पक्राउ गरी पीडितलाई न्याय दिलाउन माग गरेको छ । न्यायमा ढिलासुस्ती भए थप चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply