कृष्ण मोहन साह
सेढवा,सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको ग्रामीण क्षेत्रमा विभिन्न नाकाहरूबाट तस्करी बढेको छ । सशस्त्र प्रहरीले जिल्ला सदरमुकाममा कडाई गरे जस्तो देखिए पनि ग्रामीण क्षेत्रमा तस्करीमा कुनै कमी आएको छैन । लकडाउनमा खुद्रा सामानहरु पक्राउ गरेर केही काम गरेको भनेर देखाउन खोजे पनि संगठितरुमा हुने तस्करी भने रोकिएको छैन । पर्सा जिल्लामा खुला सीमाना भएकाले तस्करहरुलाई अबैधरुपमा सामान नेपाल भित्राउन सहज भएको छ । सशस्त्रले दैनिक सामान बरामद गरेको देखाएर सेटिंग मिलाएर रातीको समयमा ठूलो परिमाणमा समानहरु नेपाल भित्रने गरेको छ ।
पर्साको वीरगन्ज मुल भन्सार नाकाबाट अवैध सामान आउन कडाई भएको कारणले तस्करहरुले जिल्लाको ग्रामीण भेगका नाकाको प्रयोग गर्न थालेका हुन । हिजोआज जिल्लाको भिस्वा, जानकीटोला, दसावता, पाण्डेपुर, महादेवपट्टी, मालीबस्ती, बिजयबस्ती र ठोरीलगायतका नाकाहरुबाट सामान अवैधरुपमा भित्राउने गरिएको पाइएको छ । सशस्त्र प्रहरीको मिलेमतोमा भारतीय अवैध समानहरू पर्साका ग्रामीण क्षेत्रसम्म ल्याएर सो क्षेत्रबाट करिब २०÷२५ वटा मोटरसाईकलको प्रयोग गरी नेपालको वीगरन्ज, चितवन, बाराको जितपुर, सिमरा र काठमाडौं लगायतका ठाउँहरुमा पुर्याउने गरिएको छ ।
नेपाल भारत सीमा नाकामा नेपाल प्रहरीको चौकीहरु भएपनि रातभर मोटरसाईल ओहोरदोहोर गर्दा समेत प्रहरीले नियन्त्रणको लागि कुनै प्रयास गरेको पाइदैन । नेपाल प्रहरीका चौकी इन्चार्जहरुको मिलेमतोमा समेत तस्करी मौलाइरहेको बताइएको छ । एक स्थानीय बासिन्दाका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि ‘नयाँ जोगीले बढी खरानी घसे झै’ सरुवा भएर आउदा नयाँनयाँमा बढी हल्ला गरेको जस्तो देखिएको छ । केही स्थानबाट तस्करी गरेको सामान समाते जस्तो गर्ने तर निश्चित नाकाबाट तस्करी संस्थागत गर्ने काम भएको स्थानीयको आरोप छ । तस्करहरुले पर्साको ग्रामीण नाकाको ठोरी गाउँपालिका वडा नम्बर ४ को मालीबस्तीे नाका बढी उपयोग गर्ने गरेका छन ।
गाउँका मानिसहरु सबै सुतिसकेपछि मालीबस्तीको नाका प्रयोग गरेर समान तस्करी हुने गरेको स्थानीयको भनाइ छ । उता महादेवपट्टी र जानकीटोलको दसावता र पाण्डेपुरको नाकाबाट भारतीय चिनी, सख्खर, बोइलर कुखुराको सेतो अन्डा भारतीय रसायनिक मल, हाड्वयर, चिसो पेयपदार्थ, बेकरी आईटम र राङ्गाभैसी जस्ता चौपायको पनि ठुलो परिणाममा दिनहुँजसो तस्करी हुने गरेको छ ।