काठमाडौं, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै आज तेस्रो दिन पनि एमालेले काठमाडौंमा प्रदर्शन जारी राखेको छ । पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू सडक आन्दोलनमा उत्रिएका हुन ।आज बिहान माइतीघरबाट सुरु भएको प्रदर्शनमा पार्टीका सचिवहरू भानुभक्त ढकाल, शेरधन राई, डा. राजन भट्टराई र महेश बस्नेत लगायतका नेताहरूको नेतृत्व रहेको छ। एमालेका अनुसार आजको आन्दोलन उपत्यका विशेष कमिटीको आयोजनामा भइरहेको हो ।
पार्टी सचिव महेश बस्नेतले आज बिहानै सामाजिक सञ्जालमार्फत नेता–कार्यकर्ता तथा समर्थकहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभएको थियो ।
गत शनिबार गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी ठहर गरेको आधारमा अध्यक्ष ओलीलाई गुण्डुबाट पक्राउ गरिएको थियो। पक्राउ परेकै दिनदेखि एमालेले निरन्तर विरोध प्रदर्शन गर्दै आएको छ ।
यसैबीच, आन्दोलनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सचिव शेरधन राईले सरकारले राजनीतिक प्रतिशोधका आधारमा कदम चालेको आरोप लगाउनुभएको छ । उहाँले मुलुकलाई मुठभेडतर्फ धकेल्ने प्रयास भइरहेको दाबी गर्दै भन्नुभयो, “देशलाई द्वन्द्व र मुठभेडतर्फ धकेलेर युक्रेन बनाउने खोजी भइरहेको छ ।”
राईले जनादेशको उन्मादमा सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउँदै अध्यक्ष ओलीको रिहाइ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।
हाल बबरमहल क्षेत्रमा एमालेको प्रदर्शन जारी रहेको छ । प्रदर्शनका कारण सो क्षेत्रको यातायात र जनजीवनमा आंशिक प्रभाव परेको छ ।
सखुवाप्रसौनीमा एमालेद्वारा प्रदर्शन
आरके चौधरी,
सखुवाप्रसौनी,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ स्थित पञ्चगावा बजारमा नेकपा (एमाले) कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् ।नेकपा (एमाले) सखुवाप्रसौनी गाउँ इकाईका अध्यक्ष शिवनारायण चौधरी थारुको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा कार्यकर्ताहरूले सडकमा टायर बाल्दै प्रदर्शन गरेका थिए । उनीहरूले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले भदौ २४ गते भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्न समेत माग गरेका थिए । स्थानीय कार्यकर्ताहरूले नाराबाजी गर्दै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।कार्यक्रममा वडा नं. १ का अध्यक्ष बासु महतो थारु, वडा नं. ४ का अध्यक्ष मोमोदारिफ अन्सारी, गौरी यादव, बलवन्त यादव, ग्यानेन्द्र चौधरी, अनिरुद्ध पटेल लगायतको उपस्थिति रहेको थियो ।प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।


















