कुनै समय यस्तो थियो, बारा र पर्सामा सहज रुपमा आम नागरिकहरु हिड्न पनि निकै अप्ठेरो थियो । कतिबेला गोली हानेर कसको हत्या हुने हो भन्ने ठेगान थिएन तर आज फेरि त्यही नियति दोहोरिएको छ, दोहोर्याइएको छ ।
बाराको सदरमुकाम कलैयामा एक निजी विद्यालय संचालकमाथि गोली प्रहार गरिएको छ । समाजसेवी समेत रहेका रुपेश सरार्फमाथि सोमवार दिउँसै भएको गोली प्रहारको घटनाले फेरि एक पटक यस क्षेत्रको शान्ति सुरक्षाको विषयमा गम्भीर प्रश्न खडा भएको छ ।मुख्यतः बारा र पर्सा भारतसंग सीमा जोडिएको स्थान भएकाले पनि यो क्षेत्रमा अपराधिक घटनाहरु बढी नै हुने गर्दथे तर पछिल्ला केही वर्षदेखि शान्त रहेको बारा क्षेत्रमा फेरि सोमवार भएको घटनाले सबैलाई स्तव्ध बनाएको छ । अनि सुरक्षाका विषयमा फेरि चुनौतिसंगै त्रासको वातावरण पनि सृजना भएको छ । शान्ति सुरक्षाको सवालमा प्रहरी प्रशासनले लिएको अहिलेको नीतिमा पनि फेरबदल आवश्यक देखिएको छ ।जे कारणले भए पनि त्यो जघण्य अपराध नै हो । यस्तो अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनु नेपाल र भारत दुबै देशका सुरक्षा निकायको जिम्मेवारी हो । कलैयामा भएको घटनामा भारतीय अपराधीहरुको संलग्नता हुन सक्ने आशंका गरिएकाले पनि अब नेपाली र भारतीय सुरक्षा निकायकाबीचमा पनि समन्वय आवश्यक देखिएको छ । जस्तै भएपनि अपराधमा संलग्नहरुलाई कानुनी दायरामा भने ल्याउन आवश्यक छ । यसका लागि दुबै देशका सुरक्षा निकाय लाग्न जरुरी छ ।

Leave a Reply