निजगढ,लायन्स क्लब अफ निजगढ सिटीले निजगढ नगरपालिकाका विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । क्लबका सदस्यहरुले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित सशस्त्र प्रहरी बेस क्याम्प, वडा नम्बर ५ को सार्वजनिक माध्यमिक विद्यालय र वडा नम्बर १० को शहीद पार्कमा कपूर, धुपी, अशोक, जामुन लगायत विभिन्न प्रजातिका बिरुवा रोपेको लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मणीश्वर घिमिरेले बताउनुभयो ।
सशस्त्र प्रहरी बेस क्याम्पमा भएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि डिएसपी श्याम पौडेलले सशस्त्र प्रहरीले पनि “एक जवान एक वृक्ष” भन्ने अभियान संचालन गर्दै आएको र लायन्स क्लबको कार्यक्रमले प्रहरीको कार्यक्रममा पनि मद्दत पुगेको बताउनुभयो । उहाँले सशस्त्रले यस्ता कार्यक्रममा सधैं साथ र सहयोग उपलब्ध गराउने पनि बताउनुभयो ।
त्यसैगरी निजगढ नगरपालिका वडा नं ५ मा भएको वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष थलप्रसाद गौतमले वातावरण संरक्षण गर्न र हरियाली बढाउन निजगढ नगरपालिकाले अभियान चलाउने सोच बनाएको भएपनि हालसम्म बाटोघाटो र पूर्वाधार निमार्णमा नै अधिकांश लगानी केन्द्रित रहेको बताउनुभयो । उहाँले रुख र मानिसबीचको सम्बन्ध एक अर्काको परिपूरकको रुपमा रहेकोले वृक्षारोपण अभियानमा जुट्नु हुने अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबलाई विशेष धन्यवाद दिनुभयो । सार्वजनिक माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले लायन्स क्लबले विद्यालयलाई धेरै अगाडिदेखि सहयोग गर्दै आएको भन्दै अहिलेको वृक्षारोपण कार्यक्रममा पनि आफनो विद्यालयलाई छनौट गर्नुभएकोमा खुशी व्यक्त गर्नुभयो । गौतमले रोपिएका बिरुवालाई विद्यालयले संरक्षण गरी हुर्काउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा क्लबको रिजनल चियरपर्सन महेश न्यौपानेले लायन्स क्लबको बारेमा जानकारी गराउनु भएको थियो । सोही अवसरमा क्लबले बाग्देव दुग्ध उत्पादक सहकारी संस्था हातामा वृक्षारोपण गर्न संस्थाका अध्यक्ष थानेश्वर सापकोटालाई पनि बिरुवा हस्तान्तरण समेत गरिएको थियो ।
त्यसैगरी निजगढ नगपालिका वडा नम्बर १० लालमा रहेको सहिद पार्कमा स्थानीयहरुको सहभागितामा वृक्षारोपण गरी कार्यक्रमको समापन गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा पास्ट प्रेसिडेन्ट मनोज रेग्मी, भाइस प्रेसिडेन्ट विष्णु गोपाल रिसाल, सेकेन्ड भाइस प्रेसिडेन्ट राजेन्द्र सापकोटा, सेक्रेटरी मोहन राउत लगायत सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जोन चियरपर्सन खड्गप्रसाद उप्रेतीले गर्नुभएको थियो ।