कलैया,बारा जिल्लाको देवताल गाउँपालिकामा गरिव, विपन्न र बेरोजगार महिलाहरुको लागि आयोजना गरिएको अढाइ महिने ड्रेस मेकर तालिम सोमवार सम्पन्न भएको छ ।सेभ फर चिल्ड्रनको सहयोगमा आसमान नेपाल र एक्सन फर स्किल डेभलपमेन्ट कन्सेल्टेन्सी नेपाल प्रालिको सहकार्यमा खुशी परियोजना अन्तर्गत १० जना लक्षित सहभागीहरुलाई ७७ दिने (४६० घन्टे) ड्रेस मेकर तालिमको आयोजना गरिएको थियो ।तालिममा सहभागी महिलाहरुलाई ड्रेस मेकर तालिमको साथसाथै प्रत्येक महिना ५ हजार २ सयको दरले रासन खर्चसमेत उपलव्ध गराइएको एक्सन फर स्किल डेभलपमेन्ट कन्सेल्टेन्सी नेपाल प्रालिका कार्यकारी निर्देशक प्रमोद साहले बताउनुभयो ।तालिममा सहभागीहरुलाई १८ किसिमको सिलाइकटाइको प्रशिक्षण दिएको थियो । गरिव, विपन्न, बेरोजगार र महिलाहरुलाई ७७ दिने ड्रेस मेकर तालिम दिएर बेरोजगारी समस्या अन्त्य गर्ने सरकारको लक्ष्य अनुसार तालिमको सुरुवात गरिएको आसमान नेपालका बरिष्ठ संयोजक अरविन्द यादवले जानकारी दिनुभएको छ ।ड्रेस मेकर तालिमको समापन कार्यक्रममा बोल्दै देवताल गाउँपालिकाको अध्यक्ष उदयकुमार यादवले नागरिकहरुलाई रोजगारी प्रदान गर्नका लागि सीपयुक्त ज्ञान दिन आवस्यक रहेको र गाउँपालिका सीपयुक्त तालिम दिन लागिपरेको पनि बताउनुभएको छ । उहाँले शिक्षाले जीवनलाई उज्यालो बनाउने र सीपले मानिसलाई दक्ष बनाएर रोजगारको अवसर दिने भएकोले तालिममका सहभागीले आफूलाई रोजगार बनाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष यादवले देवताल गाउँपालिकाले सहभागीहरुको रोजगार सृजनाको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।तालिम समापनमा बोल्दै देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले ७७ दिनसम्म सिकेको सीपलाई जीवनमा लागु गर्न आग्रह गर्नुभयो । मानिसलाई सीपले स्वरोजगार बनाउने बताउँदै उहाँले श्रम र सीपले आय आर्जन गर्न सकिने र सीप भएको मानिस जहिले पनि समाजमा सम्मानित हुने प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको भनाई थियो ।ड्रेस मेकर तालिममा सहभागी १० जनालाई २८ हजारको दरले सिलाई कटाई मेशिनको सेट समेत प्रदान गरिने आसमान नेपालका बरिष्ठ संयोजक अरविन्द यादवले बताउनु भएको छ ।तालिम समापन कार्यक्रममा देवताल गाउँपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष लालन यादव, आसमान नेपालका फिल्ड अभिनेक गुप्ता, एक्सन फर स्किल डेभलपमेन्ट कन्सेल्टेन्सी नेपाल प्रालिका फिल्ड अफिसर अशोक सर्राफ, कार्यक्रम संयोजक रुनकुमारी चौधरी लगायत तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो ।

















