सिमरा,आन्तरिक राजश्व कार्यालय सिमरा बारामा चालु आर्थिक वर्षको आठ महिनामा ९ करोडभन्दा बढी राजश्व संकलन भएको छ ।चालु आर्थिक वर्ष ०८०-०८१ को साउनदेखि फागुनसम्ममा कार्यालयले ९ करोड ४८ लाखभन्दा बढी राजश्व संकलन गरेको हो ।
सोही समयमा पाएको १२ अर्ब ९२ करोड ६२ लाख ३४ हजारको लक्ष्यमध्ये कार्यालयले ९ अर्ब ४८ करोड ११ लाख ११ हजार रुपैँयामात्र संकलन गर्न सफल भएको प्रमुख कर अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो । सो रकम चालु आर्थिक वर्षको फागुन महिनासम्म तोकिएको लक्ष्यभन्दा २६.४५ प्रतिशतले यो कम हो ।गत आर्थिक बर्ष २०७९-०८० को फागुन महिनासम्मको राजस्व सङ्कलनसँगको तुलनामा ६.३८ प्रतिशतले कमी आएको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ ।

चालु आवमा आन्तरिक राजस्व कार्यालय सिमराले अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी वार्षिक २० अर्ब ४४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म आय करतर्फ ४१ करोड ४३ लाख ४० हजार लक्ष्य निर्धारण गरिएकोमा ४२ करोड २७ लाख २५ हजार रुपैया सङ्कलन गर्न सफल भएको छ । मुल्य अभिवृद्धिकरतर्फ ५४ करोड ९२ लाख २ हजार लक्ष्य निर्धारण गरिएकोमा ५७ करोड ९७ लाख ५४ लाख रुपैया राजस्व सङ्कलन गर्न सफलता प्राप्त भएको छ ।
त्यस्तै अन्त शुल्क तर्फ ११ अर्ब ९६ करोड २६ लाख ९४ हजार रुपैया लक्ष्य निर्धारण गरिएकोमा ८ अर्ब ४७ करोड ८६ लाख ३१ हजार रुपैया मात्र सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय सिमराले जनाएको छ । आयकर र मुल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा बढी क्रमसः १०२ प्रतिशत र १०५.६ प्रतिशत प्रगति हासिल गर्नसके पनि अन्तशुल्कतर्फ लक्ष्यको ७०.८७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत खतिवडाले बताउनुभयो ।कार्यालयअन्तर्गत बारा र रौतहट जिल्लाका करदाताबाट उक्त राजस्व संकलन गरिएको हो ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत खतिवडाले लामो समयदेखि अटेरी गरी बक्यौता नबुझाउने र विवरण दाखिला नगर्ने करदाताको नाम फागुन महिनाभित्रै पत्रपत्रिकामा प्रकाशन गरी उनीहरुको बैँक खाता, कारोबार, आयात निर्यात रोक्का गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।आन्तरिक राजस्व कार्यालय सिमराले सङ्कलन गर्ने कुल अन्तशुल्कको ८५ देखि ९० प्रतिशत हिस्सा सुर्य नेपालले बुझाउने गरेकोछ । सुर्य नेपालले उत्पादन गरेको चुरोटको बिक्रीमा आएको कमीले गर्दा पनि कार्यालयको अन्तशुल्क कम सङ्कलन भएको प्रमुख अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply