कृष्ण मोहन साह

सेढवा- राहत सामग्रीको माग गर्दै पर्साको जिराभवानी गाउँपालिकाको कार्यालय सर्वसाधारणहरुले बुधबार चौथो पटक गाउँपालिका कार्यालय घेराउ गर्नुको साथै तालाबन्दी समेत गरेका छन् । जनता समाजबादी पाटीका क्षेत्रीय संयोजक नेसार समानीको नेतृत्वमा सेढवा स्थित गाउँपालिका कार्यालय घेराउ गर्नुको साथौ करिब २५० जना अति बिपन्न तथा मजदुरहरुले पर्चा पम्प्लेट सहित नाराबाजी गर्दै गाउँपालिका कार्यालयको अगाडि चर्को घाममै धर्नामा बसेका थिए ।
सरकारले जारी गरेका लकडाउन एक महिना पन्द्र दिन बितिसक्दा पनि स्थानीय सरकारले राहत बितरण नगरेकोले बिहान बेलुकाको छाक टार्न निकै कठिनाइ भएको आक्रोश पोखेका थिए । पालिकाको जनप्रतिनिधिहरु सर्वसाधारणलाई राहत बितरणमा काखा पाखा गरेको आरोप लगाउदै गाउँपालिकाको कार्यालयमा तालाबन्दि गर्नुको साथै वडा नम्बर १ को कार्यालय महादेव पटिमा पनि तालाबन्दी गरि कालो झण्डा समेत देखाएका थिए ।

गाउँपालिकाको कार्यालय बन्द भएपनि गएको २१ गते गाउँपालिका उपाध्यक्ष उषा देवि थरुनीले जनताहरुलाइ चौबिस गते भित्रमा राहत बाडन आश्वासन दिएको र बुधबार राहत लिन जादा गाउँपालिका नै बन्द गरि उपाध्यक्ष थरुनीले ठूलो संंख्यामा प्रहरी बोलाएकोले तालाबन्दी गर्नुपरेको संयोजन समानीले बताए । धर्नामा जनता समाजबादी पाटीका नेता शम्भू यादव, रामचन्द्र महतो रामाअवतार पटवारितथा अन्य समर्थकहरूको सहभागिता रहेका थिए । जिराभवानी गाउँपालिकाले वडा नं २ का सम्पूर्ण परिवार तथा वडा नं ४ का केही टोलहरुमा राहत सामग्री बितरण गरेका छन् ।
वडा नं १, ३ र ५ मा हालसम्म राहत सामग्री बितरण गरेका छैन । यस अघि पनि जिराभवानी गाउँपालिका राहत बितरण नगरेकै बिषयले तीन पटक घेराउ भैसकेको छ । गाउँपालिका उपाध्यक्ष उषा देवि थरुनीले भने राहत बितरणको लागि आर्थिक समस्या रहेको भन्दै दुई चार दिन भित्रमा राहत बाडिसक्ने बताएकी छिन् ।

















