सिमरा,सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्व गण हेडक्वाटर पिलुवा बाराले विविध कार्यक्रम गरी २३औँ स्थापना दिवस मनाएको छ ।गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपेन्द्र साहले मधेस प्रदेशमा सुरक्षा चुनौतीपूर्ण भएपनि सशस्त्र प्रहरीले प्रभावकारी काम गरीरहेको दाबी गर्नुभयो ।
विपद् व्यवस्थापनदेखि सामाजिक क्षेत्र र राजस्व चुहावटका क्षेत्रमा सशस्त्र प्रहरीले गरीरहेको कामको डिआईजी साहले प्रशंसा गर्नुभयो । रिजर्व गणलाई अझै प्रभावकारी रुपमा परिचालित भएर काम गर्न पनि साहले निर्देशन दिनुभएको छ । गणमै रहेको शहिद स्मृति बाटिकामा पुष्पगुच्छा अर्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । वीरगति प्राप्त सशस्त्र प्रहरीलाई स्मरण गर्दै शहिद परिवारका दुई जनालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
साथै वार्षिकोत्सवका अवसरमा गणमै भएका आन्तरिक खेलकुद तथा सांस्कृतिक कार्यक्रमका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । गणका सिपाहीदेखि सशस्त्र प्रहरी निरीक्षकसम्मका ८ जनालाई प्रमाण पत्र मार्फत पुरस्कृत गरिएको थियो । उत्कृष्ट काम गरेबापत उनीहरुलाई प्रोत्साहन गरिएको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो । यस्तै स्थापना दिवसकै अवसरमा आयोजित ‘लागुऔषध दुव्र्यसनी’ विषयक चित्रकला प्रतियोगीताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५, १६ का दस वटा विद्यालयका २० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
कार्यक्रममा नेपाली सेनाको सिआईजे डब्लु शिक्षालयका समादेशक महासेनानी डा. बिजितराज रेग्मी, सशस्त्र प्रहरी बल प्राविधिक तालिम शिक्षालय पथलैया बाराका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रमोद साह, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, जिल्लाका सुरक्षा प्रमुख, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक विषेश्वरकुमार यादव, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, जितपुर सिमराका उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको समापन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्व गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले जनताको सेवा र सुरक्षाको क्षेत्रमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले शान्ति सुरक्षामा निरन्तर खटिनुका साथै सीमा क्षेत्रमा कडाई गरेर राजस्व चुहावटलाई न्यूनिकरण गर्ने बताउनुभयो । औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा आवश्यक स्रोत साधन र तालिमको तयारीकासाथ गण बसेको पनि उहाँको भनाई छ ।



















