वीरगञ्ज,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पकाहमैनपुर गाउँपालिकाको गोविन्दपुर हुँदै हसवा जोड्ने सडक निर्माणको आइतवार शिलान्यास गर्नुभएको छ ।संघीय सरकारको लगानीमा निर्माण हुन लागेको १२३६ मिटर लम्बाईको यो सडकको औपचारिक शिलान्यास गरिएको हो ।सडक निर्माण पूरा भएपछि पोखरिया आउनका लागि तिलावे पुल हुँदै बिन्दबासिनी पुग्नुपर्ने झन्झट टर्ने मन्त्री गुप्ताले जानकारी दिनुभयो । यो सडकले स्थानीयलाई आवागमनमा सहजता पुर्याउनुका साथै रणनीतिक रूपमा पनि महत्वपूर्ण योगदान दिने उहाँको भनाई छ ।

मन्त्री गुप्ताले शिलान्यास कार्यक्रममा स्थानीयलाई महत्वपूर्ण र आवश्यक योजना मात्र माग्न सुझाव दिनुभयो । ‘धेरै माग गरेर योजना अपुरो छोड्नुभन्दा आवश्यकता अनुसारको योजना माग गरेर त्यसलाई पूर्णता दिनु बुद्धिमानी हुन्छ ।’ उहाँले भन्नुभयो । विगतमा धेरै आयोजना अधुरो रहँदा तीनै तहका सरकारप्रति जनताको निराशा बढेको बताउँदै उहाँले विकासका आयोजना थोरै तर आवश्यकता र महत्व हेरेर माग गर्नुपर्नेमा जोड दिनुभयो ।मन्त्री गुप्ताले सबै कुराको जिम्मा सरकारलाई दिएर नबस्न र नागरिकले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘सरकारले सबै कुरा गरिदिन्छ भन्ने सोच नराखौं ।’ उहाँले भन्नुभयो ।करिब ९३ लाख रुपैयाँको लागतमा निर्माण हुने यो सडक मनिष कन्ट्रक्सनले बनाउनेछ, जसलाई निर्माण सम्पन्न भएपछि सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिनेछ ।पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रुवि ठाकुर लगायत वडा अध्यक्षहरूको पनि उपस्थिति थियो ।

Leave a Reply