बसन्त लामा
सिगौल,निजगढ नगरपालिका वडा नम्बर २ सिगौलस्थित स्वास्थ्य चौकी मर्मत सम्भारको अभावमा जिर्ण भएको छ ।तत्कालिन भरतगंज गाविस हुँदा स्थापना भएको भरतगंज स्वास्थ्य चौकी हालसम्म पनि मर्मत नहँुदा जिर्ण अवस्थामा पुगेको हो ।स्वास्थ्य चौकी भवनको मर्मत सम्भारमा निजगढ नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो छ । मर्मतसम्भारको अभावमा जिर्ण अवस्थामा पुगेको भरतगंज स्वास्थ्य चौकीबाट स्थानीयले सेवा लिदैआएको भएपनि सेवा प्रभावकारी हुन नसकेको स्थानीयको भनाई छ । सेवाग्राहीको बढदो चापले स्वास्थ्य चौकी भवन साघुरो भएको स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीले असहजता बेहोर्नुपरेको उनीहरुले बताएका छन । कतिपय समयमा बिरामीलाई बस्ने र आराम गर्ने कोठा र ठाउँको समेत अभाव हुने गरेको गुनासो छ ।निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौलमा हाल सहरी स्वास्थ्य क्लिनिक र खोप केन्द्र स्थापना भैसकेको छ भने वडा नम्बर १ मा पनि नयाँ स्वास्थ्य कार्यालय स्थापना भएको छ । तर वडा नम्बर २ का स्थानीयले भने अहिले पनि २५÷३० वर्ष पुरानो भवनबाट सेवा लिनुपर्ने अवस्था छ ।दोस्रोपटक स्थानीय तहको निर्वाचनको २ वर्षे कार्यकाल पुरा भइसक्नलाग्दा पनि जनप्रतिनिधिले आफ्नै वडामा भएको स्वास्थ्य कार्यालयको भवनको मर्मत सम्भार सुविधा विस्तारप्रति भने चासो नदेखाएको स्थानीयले बताएका छन ।स्वास्थ्य चौकीकी इन्चार्ज बिमला लामिछानेले उपयुक्त स्थानमा सारेर स्वास्थ्य चौकी भवन निर्माण गर्न पटक पटक आग्रह गर्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको बताउनुभयो । तर भवन पुरानो भएपनि भरतगज स्वास्थ्य चौकीले सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउदै आएको इन्चार्ज लामिछानेको भनाई छ ।