नरेश गुप्ता
बरियारपुर,राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन बाराले जिल्लाका संस्थागत विद्यालय संचालन गर्न पाउनुपर्ने माग राखेर आइतबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । नेशनल प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुशवाहको अगुवाइमा गएको निजी विद्यालय संस्थापकहरुको टोलीले कोभिड १९ को दोस्रो लहरले बैशाख १ गतेदेखि बन्द रहेका संस्थागत विद्यालय संचालन अनुमति दिन माग गर्दै ध्यानाकर्षण गराएको हो । अध्यक्ष कुशवाहाले असार १६ गते बुधबारदेखि विद्यालय संचालन गर्ने प्रवन्ध मिलाइदिन प्रजिअ पौडेलसंग माग गर्नुभएको छ ।
बन्दाबन्दीका कारण विगत लामो समयदेखि शैक्षिक गतिविधि ठप्प रहेको र बालबालिकाको भविष्यसंगै विद्यालयको आर्थिक पक्ष पनि धरासायी बन्दै गएको भन्दै विद्यालय बन्द हुदा कर्मचारीको जिवीकोपार्जन पनि कठिन बनेको प्रजिअ पौडेललाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ को दफा ३ बमोजिम प्रत्येक पालिकामा विद्यालयको वर्गीकरण गर्दा सहजीकरण निर्देशिका २०७७ को ३ बमोजिम रहने भएको दफा ३३ को सिकाइ सहजीकरण प्रणाली कार्यन्वयन सम्बन्धि बिशेष व्यवस्था मिलाइ विद्यालय संचालन गर्न पाउनु पर्ने माग गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ पौडेलले तत्काल विद्यालय संचालन गर्ने अवस्था नरहेको बताउनुभएको थियो । स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम विद्यालय संचालनको जिम्मेवारी स्थानीय तहको नै भएकोले समन्वय गरेर सुरक्षा मापदण्ड अपनाइ विद्यालय संचालन गर्ने व्यवस्था रहेको पनि प्रजिअ पौडेलले बताउनुभएको थियो । नेशनल प्याब्सनले प्रजिअ पौडेललाई बुझाएको बारा पत्रको बोधार्थ जिल्लाका १६ वटै स्थानीय तहमा पठाइएको अध्यक्ष कुशवाहाले बताउनुभयो । कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव चन्द्रका गुप्ता, केन्द्रीय सद्स्य अलि महमद अंसारी, नेशनल प्याब्सन प्रदेश न २ का कोषाध्यक्ष केएस फिगिसन, बारा जिल्ला कोषाध्यक्ष पुनदेव चौधरी लगायतको सहभागिता रहेको थियो ।