वीरगन्ज,क्रियाशील युवा पत्रकार मञ्च नेपालको आयोजनामा शनिवार निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

‘पारदर्शीता, निष्ठा र निर्भिकता–हाम्रो साझा प्रतिबद्धता’ भन्ने ध्येयका साथ स्थापित क्रियाशील युवा पत्रकार मञ्च नेपालद्वारा आयोजित शिविरमा १ सय ५० जनाले आँखा परीक्षण गराएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्सा नेपालसँगको सहकार्यमा सम्पन्न शिविरमा वीरगन्जस्थित किरण आँखा अस्पताल प्रा.लि.का प्रबन्ध निर्देशक डा. अमर क्याल नेतृत्वको नेत्र चिकित्सकको टोलीले परीक्षण गरेको थियो । मञ्चका अध्यक्ष प्रणयकुमार साहको अध्यक्षतामा सम्पन्न शिविरमा परीक्षण गराएका १ सय ५० जनामध्ये २० जनामा मोतियाबिन्दु फेला परेको मञ्चका उपाध्यक्ष आनन्द पटेलले जानकारी दिनुभयो ।

आँखा शिविरमा सशस्त्र प्रहरी बल पर्साका प्रमुख उपरीक्षक तेजप्रसाद पोखरेल, उहाँकी धर्मपत्नी लक्ष्मी पोखरेल, सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय सन्तोष बस्नेत, मनोज चन्द, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्सा शाखाका कोषाध्यक्ष संजिव मिश्र, मञ्चका सल्लाहकार कुबेरचन्द्र गौतम, कोपिला कुवँर, लक्ष्मण तामाङ्, सृजन केसी, शिवशंकर साह लगायतले आँखा परीक्षण गराएका थिए ।

आँखा परीक्षणसँगै औषधीसमेत वितरण गरिएको मञ्चका महासचिव बिरेन्द्र साहले जानकारी दिनुभयो । परीक्षणका क्रममा मोतियाबिन्दु फेला परेकाहरुलाई विशेष छुटका साथ किरण आँखा अस्पतालमा शल्यक्रिया गरिने अस्पतालका प्रमुख डा.क्यालले बताउनुभयो ।

शिविरमा नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवम् वीरगन्ज महानगरपालिकाका सद्भावना दुत अशोक वैद्य, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply