निजगढ,बाराका चार वटै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ जिल्लामा पौने २ लाख बढी मत प्राप्त गरेको छ ।सो पार्टीले १ लाख ७६ हजार ६७ समानुपातिक मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतक्ष्यतर्फ बाराका ४ वटै निर्वाचनमा जित हात पारेको रास्वपाले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको हो । रास्वपाले समानुपातिकतर्फ जिल्लामा ५५.५ प्रतिशत मत पाएको हो ।चार वटा निर्वाचन क्षेत्रबाट रास्वपाले एक लाख ७६ हजार ६७ मत पाएको हो । बारामा समानुपातिकतर्फ तीन लाख १७ हजार एक सय ८४ मत खसेको थियो ।
बारा क्षेत्र नं. १ मा रास्वपाले ४२ हजार एक सय ७१ मत पाएको छ । खसेको ८० हजार ३८ मतमा नेपाली कांग्रेसले १२ हजार दुई सय ४५, नेकपा एमालेले ९ हजार ९ सय ३३, जसपा नेपालले दुई हजार ६ सय २६, नेकपाले दुई हजार चार सय ४३, राप्रपाले एक हजार तीन सय ७८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. २ मा रास्वपाले ३९ हजार ६ सय १९ मत पाँउदा जसपा नेपालले ११ हजार ९ सय ९, कांग्रेसले १० हजार तीन सय ३०, एमालेले ६ हजार तीन सय ५६, राप्रपाले एक हजार ३७, नेकपाले ९ सय ८४ मत प्राप्त गरेको छ । यस क्षेत्रमा ७७ हजार ९ सय १७ मत खसेको थियो ।यसैगरी बारा क्षेत्र नं. ३ मा पनि रास्वपा अग्रस्थानमा छ । रास्वपाले ४३ हजार आठ सय ५६ मत पाउँदा कांग्रेसले आठ हजार दुई सय ४२, एमालेले पाँच हजार ७७, जसपा नेपालले पाँच हजार सात सय ४२, जनमतले तीन हजार दुई सय ३०, नेकपाले एक हजार तीन सय ६९ र राप्रपाले एक हजार ६५ पाएको छ ।
बारा क्षेत्र नं. ४ मा रास्वपाले जिल्लाभरिकै सर्वाधिक मत पाएको छ । ८० हजार ९ सय १५ मत खसेको उक्त क्षेत्रमा रास्वपा एक्लैले ५० हजार चार सय २१ मत पाएको छ । उक्त क्षेत्रमा एमालेले आठ हजार ९ सय ८४, कांग्रेसले पाँच हजार १८, जसपा नेपालले चार हजार ४७, नेकपाले एक हजार ९ सय ४८, राप्रपाले एक हजार सात सय ८५ मत प्राप्त गरेको छ ।प्रत्यक्षतर्फ बारा क्षेत्र नं. १ मा रास्वपाका गणेश धिमाल ३९ हजार ९ सय ९८ मत, बारा क्षेत्र नं. २ मा चन्दनकुमार सिंह ३५ हजार पाँच सय ९० मत, बारा क्षेत्र नं. ३ मा अरविन्द साह ४० हजार ६ सय ९७ मत र बारा क्षेत्र नं. ४ मा रहबर अन्सारी ४१ हजार दुई सय मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।
पर्सामा पनि रास्वपा पहिलो दल
वीरगञ्ज,फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । अन्य प्रदेशका केही क्षेत्रमा मतगणना जारी रहे पनि मधेस प्रदेशको सबै जिल्लाको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भइसकेको छ ।
प्रत्यक्षतर्फ पर्सा जिल्लाको चार वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका हरि पन्त, क्षेत्र नम्बर २ मा रास्वपा कै सुशीलकुमार कानु, क्षेत्र नम्बर ३ मा रमाकान्तप्रसाद चौरसिया र क्षेत्र नम्बर ४ मा टेक बहादुर शाक्य निर्वाचित हुनुभएको छ ।प्रत्यक्षतर्फ ठुलो मतान्तरले विजयी रास्वपाले समानुपातिकतर्फ पनि सोही अनुसारको मत ल्याएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामको नतिजा अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा समानुपातिकतर्फ ३४ हजार ४६३ मत ल्याएर अग्रस्थानमा रहेको छ ।
पर्सा – १ मा दोस्रोमा रहेको नेकपा (एमाले) ले ९ हजार २३१ मत प्राप्त गरेको छ भने तेस्रो भएको नेपाली कांग्रेसले ८ हजार २३७ मत ल्याएको छ । चौथो स्थानमा रहेको राप्रपाले ३ हजार २४०, पाँचौँ स्थानमा रहेको जसपा नेपालले १ हजार ९९ मत ल्याएको छ ।त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपा नै अग्रस्थानमा रहेको छ । रास्वपाले ३४ हजार ९१८ मत ल्याउँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० हजार ३४० मत प्राप्त गरेको छ ।तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ८ हजार ५८५ मत ल्याएको छ । क्रमशः चौथो र पाँचौँ स्थानमा रहेको राप्रपाले ३ हजार ५०६, जसपा नेपालले २ हजार ४५० मत मात्र ल्याएको छ ।
यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपा अग्रस्थानमा रहेको छ । २४ हजार १५८ मतसहित पहिलो स्थानमा रास्वपा रहेको छ भने ८ जार ६५० मतसहित नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । यसैगरी ६ हजार १६८ मतसहित नेकपा (एमाले) तेस्रो र १ हजार १९५ मतसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो भएको छ ।
पर्सा – ४ मा पनि सबैभन्दा बढी मतसहित रास्वपा अग्र स्थानमा रहेको छ । रास्वपा ३० हजार ३८९ मत ल्याएर रास्वपा पहिलो बनेको छ भने ११ हजार ५१२ मतसहित नेपाली काँग्रेस दोस्रो, ९ हजार ९३५ मतसहित नेकपा (एमाले) तेस्रो र ४ हजार ३ मतसहित जसपा नेपाल चौथो पार्टी बनेको छ ।



















