सिम्रौनगढ,बाराको सिम्रौनगगढमा करेन्ट लागेर सोमवार फेरि एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ– ९ कचोर्वा निवासी शम्भुप्रसाद यादवकी श्रीमती वर्ष ५० कीे अनिता देबी रहेकीछिन ।चौरमा घाँस काटदै गरेको अवस्थामा जमिनमाथि बिछ्याइएको बिजुलीको तार काटिएपछि करेन्ट लागेर उनको मृत्यु भएको स्थानीयबासिन्दाले बताएका छन ।
स्थानीय भनु महतोले आफ्नो खेतमा सिँचाइका लागि जमुनमाथि जडान गरेको विद्युतीय मोटरको तार अनितादेवीले हसियाले काट्दा अचानक करेन्ट लागेको थियो ।
घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो ।अनिताको शव पोस्टमार्टमको लागि कलैया ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) बिजयराज पण्डितले बताउनुभयो। विद्युत सुरक्षामा लापरवाहीका कारण ज्यान गएको हुनसक्ने आशंका गरिएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको उहाँले जानकारी दिनुभयो।
योसंगै पछिल्ला ४ दिनमा सिम्रौनगढमा करेन्ट लागेर ३ जानले ज्यान गुमाएका छन ।
गत बिहीबार अमृतगगन्जका रामेश्वर महतो र शुक्रवार झवानीका कैलशिया देबी राम्को पनि करेन्ट लागेर मृत्यु भएको थियो ।त्यसैगरी रौतहटको बौधीमाई नगरपालिका–४, इनरबारीका एक पुरुषको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर घाइते हुनुभएका ५२ वर्षीय अजयनारायण मिश्रको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।खेतमा पानी हाल्ने क्रममा विद्युतीय मोटरमा करेन्ट लागेर सोमवार बिहान १० बजेर २५ मिनेटको समयमा मिश्र घाइते हुनु भएको थियो । घाइते भएपछि मिश्रलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्याइएको थियो ।
प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा सोमवार बिहान ११ बजेर १२ मिनेटमा मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता कार्कीले बताउनुभयो ।मिश्रको करेन्ट लागेर मृत्यु भएपछि बौधीमाई नगरपालिका पूर्व नगर प्रमुख राजीवरञ्जन यादवले सरकारलाई किसानप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउनुभयो ।

















