सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सवारी दुर्घछनामा २ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार डुमरवाना–बडहर्वा सडकखण्डमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक सेवा निवृत्त शिक्षकको मृत्यु भएको हो भने अमलेखगञ्मा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
ट्याक्टरको ठक्करबाट रौतहट संग्रामपुर घर भई जीतपुरसिमरा उपमहानगरपालिका २ बस्ने ६१ वर्षीय पूर्वशिक्षक केदारप्रसाद शर्मा र बसको ठक्करबाट गोरखा निवासी ३५ वर्षीय रामकुमार कोइरालाको मृत्यु भएको हो ।
डुमरवानाबाट प्र.०२–०३–००७ प २३४१ नम्बरको मोटरसाइकल चलाएर बडहर्वातर्फ जाँदै गरेका शर्मालाई सोही दिशाबाट गुडिरहेको ना७त ५२२६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । उक्त ट्याक्टरले ठक्कर दिँदा शर्माको मोटरसाइकल अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको प्र.०२–०३–००१ त ५६१५ नम्बरको अर्को ट्याक्टरमा ठोक्किएको थियो ।

ठक्करबाट गम्भीर घाइते शर्माको उपचारका क्रममा मेडिसिटी अस्पताल वीरगञ्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश भट्टले जानकारी दिनुभयो ।शर्माले निजगढ ७ को नेत्रोदय मावि, नेरामावि सिंगौल, नेरामावि पथलैया र सिमरासहित जीतपुरसिमराका विभिन्न विद्यालयमा लामो समय अध्यापन गर्नुभएको थियो ।त्यसैगरी जीतपुरसिमरा– २२ मा बा. प्र. ०१–००६ ख. ९९७७ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र. ३–०२–०१३ प. ३०२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३५ वर्षीय रामकुमार कोइरालाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढले जनाएको छ ।

Leave a Reply