सिमरा,अर्थमन्त्री प्रकाश शरण महतले निजगढ विमानस्थल पोखराभन्दा पहिला नै बनाइसक्नु पर्ने बताउनुभएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– ७ स्थित सञ्जीवनी बाटिका भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महतले आइतवार सो कुरा बताउनुभएको हो ।मन्त्री महतले विमानस्थल बनाउनु पर्नेमा शहर बनाउने कुरा गरेर निजगढ विमानस्थल आयोजनालाई लामो समयसम्म अल्मलाएर राख्ने काम भएको पनि बताउनुभयो । निजगढ विमानस्थलभित्र एयरपोर्ट सिटी बनाउने कुरा गरिएको थियो, उहाँले भन्नुभयो, जुन नेपालको आवश्यकता नै थिएन ।’पहिला एयरपोर्ट बनाउनु पर्नेमा एयरपोर्ट सिटी बनाउने चर्चा गरिएको भन्दै मन्त्री महतले निजगढमा बस्न नभई प्लेन चढ्ने र ओर्लिन पर्यटक आउने बताउनुभयो । ‘शहर बसाउनका जग्गा लिने होईन,’ मन्त्री महतले भन्नुभयो, ‘एयरपोर्टको लागि चाहिने जमिन लिएर विमानस्थल बनाउने कामलाई प्राथमिकतामा दिनुपर्छ ।’उहाँले आफूले निजगढ विमानस्थल निर्माणको लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने पनि बताउनुभयो । मन्त्री महतले यसअघि काठमाण्डौंमा भएको एक कार्यक्रममा पनि पोखराभन्दा पहिला निजगढ विमानस्थल बनाइनुपर्नेमा त्यसो नभएकोमा दुख व्यक्त गर्नुभएको थियो ।३३ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर जेष्ठ नागरिक बृद्धा आश्रमको संरक्षणको लागि स्थापना गरिएको सञ्जीवनी बाटिकाको भवन अर्थमन्त्री महतले उद्घाटन गर्नुभएको हो ।पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुला मन्सुर अध्यक्ष रहको सञ्जीवनी बाटिका उद्घाटन समारोहमा अर्थमन्त्री महत, पूर्वमन्त्री एवंम बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसान, बारा क्षेत्र नम्बर ४ ‘१’ का प्रदेश सांसद देवनारायण चौधरी, जीतपुरसिमरा वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा समाजमा विशेष योगदान गरेका जेष्ठ नागरिक नन्दन अर्याल र जिविस बाराका पूर्वसभापति छठ्ठुप्रसाद यादवलाई सम्मान गरिएको थियो ।

Leave a Reply