नरेश गुप्ता
बरियारपुर,जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकता बदर सम्बन्धी झण्डै एक दर्जन मुद्दा दर्ता गरिएको भएपनि कार्वाही गर्ने निकाय भने मौन देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बारामा आर्थिक वर्ष ०७७÷०७८ तथा चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बदर सम्बन्धि १२ ओटा उजुरी परेको कार्यालयको तथ्यांकले देखाएको छ ।
बिगत लामो समयदेखि बिचारधिन रहेको नागरिकता सम्बन्धी मुद्दामा अभियुक्तहरुलाई कारबाही नहुँदा अभियुक्तहरु निर्धक्कसंग यत्रतत्र घुमिरहेको अवस्था छ । जिल्ला प्रशासन कार्यालय बारामा नागरिकता बदर सम्बन्धी मुद्दामा आरोपित जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का चिन्ता सहनी गोढ र रामपृती गोढलाई बिपक्षी बनाएर मुद्दा चलाइएको छ । त्यसैगरी आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ निवासी कृष्णप्रसाद कोईरी, उमा देबी कोइरी र मनोज कुशवाहालाई पनि नागरिकता सम्बन्धि मुद्दामा बिपक्षी बनाएर मुद्दा दर्ता गरिएको छ ।
त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २६ निवासी जानकी देबी कुमाढ, पुनम देबी कुमाढ, परवानिपुर गाउँपालिका वडा नम्बर ८ निवासी राधिका देबी साह, सिम्रौनगढ, हरिहरपुर निवासी राकेश पंण्डित लगायत एक दर्जन व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाण पत्र बदर सम्बन्धि मुद्दा दर्ता रहेको कार्यालयका मुद्दा फाँटको अरुन साहले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नयाँ र पुरानासमेत गरि पेण्डिङ्गमा रहेका १ दर्जन उजुरीको छानबिन गरी थप कारबाहीको लागि गृह मन्त्रालयमा पठाएर कारबाही प्रकृया अगाडि बढाउने बताउनुभयो ।

















