पुष्पराज खतिवडा
मनहर्वा,साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको १६औं बार्षिक साधारणसभा सोमवार करैयामाई गाउँपालिकामा सम्पन्न भएको छ ।गाउँपालिका वडा नम्बर १ मधुवनस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड हरैयाको सभाहलमा सम्पन्न उक्त साधारण सभाको जिल्ला सहकारी संघ लिमिटेड बाराका अध्यक्ष उपेन्द्र जयसवालले उद्धाटन गर्नुभएको हो ।प्रमुख अतिथि समेत रहनु भएको जिल्ला अध्यक्ष जयसवालले राज्यले सहकारीलाई उपेक्षा गरिरहेको बताउनुभयो । भारत लगायत विश्वका कयौं देशमा सहकारीलाई समृद्धिको बलियो माध्यमका रुपमा विकास गरिएको बताउदै राज्यकै लगानीमा सहकारी संस्थाहरुले उत्पादन तथा बजारीकरणको क्षेत्रमा काम गर्नेगरेको जानकारी दिनुभयो । ‘ ती देशहरुमा सहकारीहरु राज्यका बलिया सहयोगीको रुपमा रहेका छन्, अध्यक्ष जैयसवालले भन्नुभयो, तर नेपालमा सहकारीलाई राज्यले उपेक्षा गरेको छ ।’सहकारी संस्थाहरुले उत्पादनको क्षेत्रमा काम गर्ने वातावरण राज्यले बनाईदिनु पर्ने भन्दै त्यसपछि मात्रै सहकारीमार्फत देशमा समृद्धि सम्भव हुने उहाँको भनाई छ ।कार्यक्रममा बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सत्यन्द्र ठाकुरले जिल्ला सहकारी संघहरुलाई संचालनमा कठिनाई भइरहेको बताउनुभयो । ‘केन्द्रीय संघहरु र प्रारम्भिक संस्थाहरु मजबुत भए पनि जिल्ला संघहरु आर्थिक रुपले निक्कै कमजोर देखिएका छन, उहाँले भन्नुभयो, जसका कारण अपेक्षित परिणम आउन सकेको छैन ।’कार्यक्रममा प्रस्तावित साना किसान कृषि सहकारी संघ मधेस प्रदेशका पूर्वसचिव पुनदेवप्रसाद रौनियार, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, साना किसान कृषि सहकारी संघ बाराका सचिव रामएकवालप्रसाद चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष प्रदिप सिंह बराल, भोडहाका अध्यक्ष बिन्दा सिंह, ईनर्वासिराकी अध्यक्ष संजिला खातुन लगायतको सहभागिता रहेको थियो ।सभामा अध्यक्ष मिश्रीलाल सहनीको संस्थागत, लेखा समिति संयोजक रामलखन यादवले प्रस्तुत गरेको आन्तरिक लेखा परीक्षण र संघका प्रबन्धक नविन चौधरीले प्रस्तुत गर्नु भएको लेखा परीक्षण प्रतिवेदन सुझावसहित पारित भएको छ । संघमा जिल्लाका १ सय ३० भन्दाबढी प्रारम्भिक कृषि सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।संघका अध्यक्ष मिश्रीलाल सहनीको अध्यक्षता, उपाध्यक्ष नयनकला खड्काको स्वागत एवमं साना किसान कृषि सहकारी संस्था लिमिटेड ईनर्वासिराका मुख्य प्रबन्धक झपेन्द्रराज बरालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।