कलैया,नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरमा बिहीवार पूजापाठ गर्नुभएको छ ।गढीमाई मन्दिरको दर्शन गर्न पुग्नुभएका महामन्त्री शर्मालाई मन्दिरका पूजारी मंगल चौधरीले पूजापाठ गराउनुभएको हो । सो अवसरमा महामन्त्री शर्माले गढीमाई मन्दिरलाई सरकारले विश्व सम्पदा सूचीमा राख्नुपर्ने बताउनुभयो । गढीमाई मन्दिर र यहाँ लाग्ने मेलाले नेपाललाई छुट्टै पहिचान दिएको हुनाले मेलालाई भव्य र सभ्य बनाउनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो।

उहाँले गढीमाई बारा जिल्लाको मात्रै नभएर मधेस र सिङ्गो देशकै गैरभको स्थान भएको पनि उहाँको भनाई थियो । ‘बाराको महागढीमाई, जनकपुरको रामजानकी मन्दिर मधेसको मात्रै होइनन्, देशकै पहिचान हुन, उहाँले भन्नुभयो धार्मिक र सांस्कृतिक महत्वको गढीमाई क्षेत्रको विकासमा सबैले ध्यान दिएर काम गर्नुपर्छ ।’आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा पार्टीको चुनाव प्रचारको लागि रौतहट जानेक्रममा महामन्त्री शर्माले गढीमाईको पूजा र दर्शन गर्नुभएको हो ।

महामन्त्री शर्मालाई गढीमाई मेला मुल व्यवस्थापन समिति र पार्टीका कार्यकर्ताहरुले स्वागत गरेका थिए ।पशु बलीको लागि प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि सुरु भएसगै मन्दिरमा दर्शन गर्ने र मेला अवलोकन गर्नेको भिड बढ्न थालेको छ।
यसैबीच महामन्त्री शर्माले नेपाली कांग्रेसका कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको बताउनुभएको छ ।
पार्टीका उम्मेदवारको चुनाव प्रचारप्रसारको क्रममा रौतहटको इशनाथ नगरपालिका–७ मा आयोजित चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।नेपाली कांग्रेस इतिहास बोकेको पार्टी भएको बताउँदै महामन्त्री शर्माले कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुने बताउनुभयो । ‘यो देशमा नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन, उहाँले भन्नुभयो, कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको हो ।’राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको थियो ।

Leave a Reply