निजगढ,नेकपा एमाले स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री प्रभु साहले निजगढमा अन्तर्राष्टिय विमानस्थल निर्माण गर्ने कार्य कुनै तागतले पनि रोक्न नसक्ने बताउनुभएको छ ।

गृह जिल्ला रौतहटबाट काठमाण्डौं जाने क्रममा मंगलवार निजगढको शहिद चोकस्थित अनशन स्थलमा पुगेर नेता साहले सो कुरा बताउनुभएको हो । ‘कसैको मायादयाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र छनौट भएको होइन, नेता साहले भन्नुभयो, यहाँको भौगोलिक बनावट र अवस्थाले गर्दा नै निजगढमा प्रस्ताव गरिएको हो ।’ ‘उपयुक्त जमिन र काठमाण्डौंबाट सबैभन्दा नजिक पर्ने निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कुनै तागतले पनि रोक्न सक्दैन उहाँले भन्नुभयो । ’

निजगढ विमानस्थल निजगढको लागि मात्रै नभएर देशकै लागि पनि महत्वपूर्ण योजना भएको साहले बताउनुभयो । काठमाण्डौंको त्रिभुवन विमानस्थलको विकल्पमा निजगढ विमानस्थलको परिकल्पना गरिएको भन्दै यो विमानस्थल निर्माण विरुद्ध केही वर्षयता चलखेल हुदै आएको र अहिले न्यायलयमार्फत निर्माण हुन नदिने चलखेल भएको पनि उहाँले बताउनुभयो ।

विमानस्थल बन्नुपर्छ र कुनै किसिमको अवरोध हुनु हुदैन भनेर निजगढबासी जनताले गर्दै आएको आन्दोलनमा आफ्नो पूर्णसमर्थन रहेको उहाँको भनाइ थियो । नेता साहले अनशनमा सहभागी र निजगढ सार्वजनिक सरोकार समितिका पदाधिकारी र सदस्यहरुसंग भेटेर समितिले संचालन गर्दै आएको आन्दोलनको अवस्थाको बारेमा जानकारी पनि लिनुभएको थियो । साहसंगै एमाले केन्द्रीय कमिटी सदस्य कुन्दन कुशवा, मधेस प्रदेश कमिटी सहसचिव आरती भण्डारी पनि अनशन स्थलमा पुग्नु भएको थियो ।

यसैबीच अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग राखेर निजगढस्थित शहिद चोकमा सुरु भएको रिले अनशन मंगलवार २० औंं दिनमा पनि जारी छ । मंगलवारको अनशनमा रत्नबहादुर थापा, सुजित लामा, सूर्यबहादुर लामा, सन्जय लामालगायत सहभागी बन्नुभएको छ । यसअघि दिवाकालिन अनशनमा कोल्हबी नगरपालिकाका लिला पाण्डे, जरी लामा, हिराबहादुर लामा, सोमिती चौधरी, कृष्ण घिमिरे, धनबहादुर श्रेष्ठ, हिमाली लामा, सानु बिक अनशन बस्नु भएको थियो ।

Leave a Reply