राजनीतिक दलका नेताहरुको कुरा सुन्ने हो भने लोकतन्त्रमा जनता सर्वोपरी हुन्छन् भन्छन् र सत्य यही पनि हो कि लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । तर, जनताको भावना विपरित जनप्रतिनिधिहरुले गर्ने हर्कत भने लोकतन्त्र र जनमतकै उपहास जस्तो देखिन्छ । केही स्थानका जनप्रतिनिधिहरुको पारा हेर्दा यस्तै देखिन्छ । कर्मचारीहरुको शासनकालमा भन्दा जनप्रतिनिधिहरुको समयमा जनताले सास्ती झेल्नु भनेको जनतमको उपहास नै हो ।यस्ता जनप्रतिनिधिहरुको हिसाब किताब त जनताले गरिरहेका हुन्छन् तर उनीहरुलाई बेला बेलामा नागरिकहरुले सचेतता समेत गरिदिनपरेको छ ।बाराको जीतपुरसिमरा यस्तै एउटा नमुना नगर बनेको छ । नगरको फोहोर उठेन भनेर नागरिकहरुले विरोध प्रदर्शनसम्म गर्नुपर्ने अवस्थाको सृजना हुनु भनेको सत्तामा रहेका तिनै जनप्रतिनिधिहरुका लागि पनि गिज्जाइरहेको कुरा हो । तर, चेत नभएका जनप्रतिनिधि भएपछि कसको के पो लाग्छ र ?शायद यही भएर पनि जनताले नगरपालिकाको मुख्य गेटमा नै फोहोर फालेर बिरोध प्रदर्शन गरेको हुनुपर्दछ । सरसफाइ मानिसको पहिलो सर्त हो । सफाइ पहिलो आवश्कयता पनि हो । त्यसैले पनि सरफाइमा ध्यान नदिने स्थानीय तह यसैपनि जनमैत्री हुन सक्दैनन् । जे कारणले फोहोर नठेको भएपनि त्यसको दोषी नेतृत्वकर्ता नै हुन्छन् । नगरको नेतृत्वकर्ताले यसको जवाफ पनि दिनुपर्दछ । यसरी जनमतको खिल्ली उडाउने अधिकार कसैलाई पनि छैन ।