कृष्ण मोहन साह

सेढवा,कोरोना संक्रमणको महामारीका कारण आम्दानी गर्न नपाएर प्रभावित ठोरी गाउँपालिका वडा नम्बर– ५ का अति विपन्न परिवारलाई आइतबार खाद्यान्न सामग्री वितरण गरिएको छ ।

जेडएसएल नेपालको सहयोगमा सुवर्णपुरमा रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले समितिको कार्यक्षेत्रभित्र रहेका अति विपन्न र निषेधाज्ञाको समयमा समस्यामा परेका उपभोक्ताहरुलाई चामल, दाल, तेल, नुन, आलु, प्याज लगायतका खाद्यान्न सामग्री वितरण गरेको समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो । आइतबार सुवर्णपुरमा आयोजित एक कार्यक्रममा सुवर्णपुरका अति विपन्न ३० घरपरिवारलाई ६६ हजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको सचिव श्रेष्ठले बताउनुभयो । प्रतिपरिवार एक बोरा चामल, ३ किलोग्राम दाल, ३ किलोग्राम आलु, २ किलोग्राम प्याज, १ किलोग्राम नुन र २ प्याकेट खानेतेल वितरण गरिएको उहाँले बताउनुभयो । खाद्यान्न वितरण कार्यक्रममा ठोरी ५ का वडाध्यक्ष रामबहादुर पाख्रिन, सुनाखरी उपभोक्ता समिति अध्यक्ष देवीप्रसाद दाहाल, विभिन्न संस्थामा आवद्ध अगुवाहरु, स्थानीय जनप्रतिनिधि, पर्सा राष्ट्रिय निकुन्जका प्रतिनिधिलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

यस्तै खाद्यान्न सामग्री वितरण लगत्तै आइतबार नै सुवर्णपुरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा मातृभुमी सामुदायिक वन छिरिङ् लाइनमा वृक्षारोपण गरिएको हो ।

Leave a Reply