वीरगंज, २३ भदौ ।
वीरगंजको गण्डकस्थित नेपाल मेडिसिटी वयोद्या अस्पतालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई बिस्ता गर्ने भएको छ । विश्व फिजियोथेरापी दिवसका अवसरमा अस्पतालमै आयोजित एक कार्यक्रमका बिच अस्पतालका प्रमुख विजय रिमालले फिजियोथेरापी तथा रिह्याबिलिटेशन सेवालाई बिस्तार गर्न लागेको जानकारी दिए ।
वीरगंज औद्योगिक कोरिडोरका कारण यस क्षेत्रमा औद्योगिक दुर्घटना, राजमार्ग सवारी दुर्घटना तथा घरेलु दुर्घटनाका घटनाहरु बढी हुने भएकाले गुणस्तरीय फिजियोथेरापी सेवाको आवश्यक्तालाई मध्यनजर गर्दै बिस्तार गर्न लागिएको रिमालले बताए ।
विभिन्न किसिमका दुर्घटनाहरुबाट घाइते भएकाहरुलाई उपचार गर्न विशिष्ट ट्रमा अस्पतालको रुपमा नेपाल मेडिसिटी वयोद्या अस्पताललाई विकास गरिएको पनि उनले जानकारी दिए । हाडजोर्नी तथा स्नायू (न्यूरो) सम्बन्धि विशेषज्ञ चिकित्सकहरुको २४ सैं घण्टा सेवा उपलब्ध रहेको पनि उनले बताए ।
दिवसकै अवसरमा आयोजित कार्यक्रममा अस्पतालका फिजियोथेरापी विभागका प्रमुख डा. न्रिपेन्द्र कर्णले अस्टियोआथ्रीईटिस (घुंडाको जोर्नी खिइने समस्या) का बारेमा जानकारी गराउंदै जोर्नीमा हुने समस्या निराकरणका लागि अपनाउनुपर्ने सावधानीका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
सोही अवसरमा अस्पतालकी फिजियोथेरापिस्ट डा. अर्चना मेहताले कार्यक्षेत्रमा गरिने अल्पकालिन ब्यायामका विधिहरु प्रस्तुत गरेकी थिइन् । अडोर हेल्थ केयरको सहयोगमा भएको कार्यक्रममा नेपाल फिजियोथेरापी एशोसिएसनका अध्यक्ष ओमप्रकाश शाह लगायत अस्पतालका चिकित्सक एवम् कर्मचारीहरुको उपस्थिती रहेको थियो ।