वीरगञ्ज,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताउनुभएको छ ।वीरगञ्जमा भएको मधेश प्रदेश कमिटीका पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताउनुभयो ।ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न सरकारसंग आग्रह पनि गर्नुभएको छ । ‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो । सरकारले काम गर्नुप¥यो,’ ओलीले भन्नुभयो, ‘मान्छे पुरिएका छन् कि जिउँदै छन् कि तिनलाई निकाल्न सकिन्छ कि सकिदैन त्यस काममा सम्पूर्ण शक्ति लगाउनुपर्छ ।ओलीले तदारुकताका साथ भूकम्प पीडितलाई राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उद्धार तथा खोजमा सरकारलाई सघाउन आफ्नो दल तत्पर रहेको बताउनुभएको छ ।‘घाइतेको खोजी र उद्धारका लागि हामी पनि सरकारलाई सहयोग गर्न तयार छौँ,’ सामाजिक सङ्घसंस्थालाई पनि तत्काल राहत र उद्धारमा जुट्न आग्रह गर्दै उहाँले भन्नुभयो ।पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई इमान्दारीका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्दै अध्यक्ष ओलीले सबैले दत्तचित्त भएर देश र जनताका निम्ति काम गरेमा आउँदो चुनावमा बहुमत प्राप्त गर्न सकिने बताउनुभयो । मधेशको विकासका लागि पार्टी प्रतिबद्ध रहेको दोहोर्याउँदै उहाँले मधेशको गरिबी हटाउने योजनामा काम गर्न स्थानीय तहका नेतालाई निर्देशन दिनुभयो ।अध्यक्ष ओली नेकपा एमालेको मधेश प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको शपथ समारोहमा सरिक हुन पर्साको वीरगन्जमा आउनुभएको हो ।सो कार्यक्रममा नेकपा एमालेका सचिव एवम् मधेश प्रदेश प्रमुख योगेश भट्टराई, कोशी प्रदेश प्रमुख रघुवीर महासेठले पार्टी सङ्गठनका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलोमात्रामा धनजनको क्षति भएपछि पीडितहरुको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।पार्टी पङ्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो । जाजरकोट र रुकुमपश्चिमका संयौं नागरिक पीडित भइरहँदा सिङ्गो मुलुकको सहयोगको खाँचो रहेको बताउँदै उहाँले सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो ।भूकम्पबाट अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ । १९७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पीडितको उद्धारका लागि एमालेका नेता तथा कार्यकर्ता प्रभावित क्षेत्रमा परिचालित भइसकेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।


















