सिमरा,मदन भण्डारीको जन्मजयन्तीका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जीतपुरसिमरा नगर कमिटीले बिहिवार वकृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।भूराजनीति र नेपालको विषयमा केन्द्रीत रहेर सिमरा कलेजमा आयोजित प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सात वटा विद्यालयका छात्रछात्राहरुले सहभागिता जनाएका थिए ।प्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराकी छात्रा अनुषा लामिछाने प्रथम, प्रोग्रेस एकेडेमीकी छात्रा जिया सापकोटा द्धितीय र न्यु एकता पब्लिक स्कुलका छात्र बिमल चौधरी तृतीय भएका छन् ।वकृत्वकलामा प्रथम भएकी छात्रा लामिछानेले नगद १० हजार, द्धितीय भएकी छात्रा सापकोटाले पाँच हजार र तृतीय भएका छात्र चौधरीले तीन हजार नगद प्राप्त गरेका छन् ।
विजेता विद्यार्थीलाई मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै प्रदेशसभा सदस्य चौधरीले विद्यार्थीलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने कार्य सकारात्मक रहेको भन्दै यस्ता क्रियाकलापले निरन्तरता पाउन जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य मनोज पौडेल, किशोर शर्मा, बारा जिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ, अनेरास्ववियु मधेस प्रदेश संयोजक त्रिलोक विक्रम शाह, केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, मनिष प्याकुरेल, जिल्ला अध्यक्ष सम्राट खनाल, एमाले वडा नं. २ का वडा कमिटी अध्यक्ष रवीन्द्र खकुरेललगायतको उपस्थिति रहेको थियो ।अनेरास्ववियु नगर कमिटी अध्यक्ष ईश्वर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण श्रीराम रेग्मीले गर्नुभएको थियो ।

Leave a Reply