वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर २ का निरञ्जन शर्मालाई पर्सा प्रहरीले वीरगन्ज बजारबाटै पक्राउ गर्यो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटेको प्रहरी टोलीले शर्मालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्दा शर्मा प्रहरीसँगै भनाभनमा उत्रनु भएको थियो । जब प्रहरीले पक्राउ गर्नाको कारण बतायो तब उहाँ अचम्मित हुनुभयो । जतिसुकै सानो सजाय भए पनि त्यसलाई छलेर हिँड्न नसकिने रहेछ भन्नेमा संदेश पनि प्रहरीले दिन खोजेको छ ।

२६ वर्ष अगाडि भएको एउटा घटनामा अदालतले शर्मालाई ५० रुपैयाँ जरिवाना तोकिएको मुद्दामा प्रहरीले पक्राउ गरेको थियो ।जिल्ला अदालत पर्साले २०५३ साल साउन ३२ गते सरकारवादी रहेको जुवा मुद्दामा शर्मालाई ५० रुपैयाँ जरिवाना तोकेको थियो ।तर उहाँ जरिवाना नतिरी फरार रहँदै आउनु भएको थियो । ५० रुपैयाँ तिर्नका लागि पनि प्रहरीले आफूलाई पक्राउ गर्नेमा उहाँ बिश्वस्त हुनुहुन्थेन । जरिवाना तोकेको २६ वर्ष बित्दासम्म वीरगन्जमै विभिन्न काम गर्दै आइरहनु भएको थियो,उहाँ ।

यस अवधिमा पर्सामा कयौँ प्रहरी नेतृत्व फेरियो, कयौँ अदालतका न्यायाधिश फेरिए । यत्तिका वर्ष बित्दा पनि अदालतले गरेको त्यो फैसलाले शर्मा पक्राउ पर्नबाट उम्किन सक्नुभएन ।

अदालतमा ५० रुपैयाँ जरिवाना बुझाएर उहाँ आइतबार नै छुटनुभएको छ । अदालतको फैसला कार्यान्वयन गराउन प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्दै अदालत बुझाउने गरेको छ ।प्रहरीले आइतबार शर्मा जस्तै विभिन्न मुद्दामा फैसला भएर फरार रहेका ८ जनालाई पक्राउ गरेर अदालत बुझाएको थियो ।किर्तो जालसाजी मुद्धामा २०६९ साल भदौ १० गते २० रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज १ की पानवा मलिन, कुटपिट मुद्धामा २०६३ मंसिर २१ गते २५० रुपैयाँ जरिवाना तोकिएको सोही वार्डकै मदन पण्डित, सार्वजनिक अपराधको मुद्धामा २०७२ चैत २५ गते २ सय रुपैयाँ जरिवाना तोकिएको जावेद भन्ने बट्टु मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

यस्तै लुटपाट मुद्दामा २०६७ पुस २९ गते ३ हजार ७ सय ६७ रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज १ का पनमतीया देवी तुराहा, विदेशी विनिमय मुद्धामा २०७६ माघ ९ गते २९ हजार ९ सय ४८ रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज ६ का कामेश्वर साह कलवार, चेक अनादर मुद्धामा २०७७ चैत १९ गते ३ हजार रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज १६ का रामआशिष प्रसाद बरै र दुनियाँवादी फौजदारी मुद्धामा २०७८ मंसिर ६ गते ३ हजार रुपैयाँ जरिवाना तोकिएको वीरगन्ज ४ का कुन्दनकुमार वर्णवाललाई प्रहरीले पक्राउ गरेर अदालत बुझाएको हो ।

प्रहरी कार्यालय विर्ताको फैसला कार्यान्वयन टोलीले २६ वर्ष पुरानो मुद्दाका साथै २० रुपैयाँ जरिवाना तोकिएका व्यक्तिसहित ८ जनालाई नगरका विभिन्न स्थानबाट पक्राउ गरी आइतबार जिल्ला अदालत पर्सामा बुझाएको थियो । फैसला कार्यान्वयनका लागि अदालत बुझाइएको आठै जना बिगो जरिवाना बुझाएर आइतबार नै छुटेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here