कृष्ण मोहन साह
सेढवा,पर्साको ठोरी गाउँपालिकामा सुकुम्बासीको नाममा हुकुमबासीको समूहले सयौ बिघा जम्मा अतिक्रमण गरेको खुलासा भएको छ ।ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्तीमा रहेको स्याउली बस्तीमा पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रभित्र पर्ने ठूलो क्षेत्रफलको जग्गा अतिक्रमण गरिएको पाइएको हो । उनीहरुले वर्षौदेखि सो जग्गा भोग चलन गर्दैआएका हुन ।
गाउँको पश्चिम–दक्षिण तथा शिकारीबास पुल नजिक पर्ने वीरगञ्ज– ठोरी सडक खण्डबाट भारतमा पर्ने जंगलसम्मको लगभग ७ सय बिघा भूभाग अतिक्रमण गरेर उनीहरुले भोगचल गर्दैआएको स्थानीय सुकुमबासी चन्द्रबहादुर थिङ्गले जनाउनुभयो ।

२०५६ सालमा पुनरबास आयोगले सो स्थानमा काभ्रे, मकवानपुर तथा देशका अन्यबाट ल्याएर ५०-६० घरधुरी सुकुमबासीहरुको बसोबास गराएको थियो । तर अहिले उक्त क्षेत्रमा करिब २ सय १० घरधुरीको बसोबास पुगिसकेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । २०३६ सालमा राष्ट्रिय वन क्षेत्र हुँदाको अवस्थामा नै सो जङ्गल फडानी भएको र पछि निकुञ्ज घोषणा गरिएपछि निकुञ्जले आफ्नो हक दाबी गर्दैआएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
बस्तिमा हाल सक्कली सुकुम्बासीहरुको संख्या १०÷१२ घरधुरी परिवार मात्र रहेका उनीहरुले २० देखि २५ बिघा जमिन मात्रै भोगचल गर्दैआएको स्थानीयले जनाएका छन । यो जग्गा बाहेक करिब ६ सय ५० बिघाभन्दा बढी जग्गा गैरसुकुमबाबासीले नै जबरजस्ती कब्जामा लिएर भोगचलन गरिरहेको बताइएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको सो क्षेत्रमा साविकको निर्मलबस्ती, सुवर्णपुर, महादेवपटीमा घरबास भएका गैरसुकुमबासीको जग्गा समेत रहेको बुझिएको छ । सो क्षेत्रका जग्गा गत वर्षसम्म प्रतिकठ्ठा ५० हजारदेखि दुई लाख रुपैयाका दरले खरीद बिक्री समेत हुदैआएको थियो । जग्गाधनीको प्रमाण पुर्जा नभए पनि घरायँसी कागज गरेर जग्गाको खरिद बिक्री हुने गरेको स्थानीयले जानकारी गराएका छन ।

तर पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता एवंम सहायक संरक्षण अधिकृत संतोष भगतले भने सो क्षेत्रलाई राष्ट्रिय योजना अनुसार पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जंगल र सिमापारी रहेको टाइगर टप भनिने जंगलसंग जोड्न लागिएको छ । सो योजनाका लागि पर्सा राष्ट्रिय निकुञ्जले बस्ती उठाउने भनी पटक पटक सूचना समेत टाँस गरिसकेको अधिकृत भगतले जानकारी दिनुभयो । सो क्षेत्रका केहि भूभागमा निकुञ्जले वृक्षारोपण समेत गरिसकेको सहायक संरक्षण अधिकृत भगतले बताउनुभएको छ ।

Leave a Reply