खासगरी २०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा उठ्यो । पुनर्निर्माणमा सरकारको सक्रियता र नेपालीको महत्वपूर्ण साथ रह्यो । यसै समयमा भूकम्पले धेरै ऐतिहासिक धरोहर ढले । कैयौं चर्किए । थिलथिलो बनेका केही धार्मिक स्थलका संरचना टेकोले अडिएका छन् । चर्किएकाको मर्मत हुन सकेको छैन । मर्किएकाले सोझिन पाएनन ्। परापूर्वकालमा निर्माण भएका मठमन्दिर, गुम्बा, चैत्य, मस्जिद आदि खण्डहर छन ।
यसभित्रका महत्वपुर्ण ऐतिहासिक दस्तावेज हराउँदैछन । चोरिएका छन् र मासिँदैछन । जोगाउनु पर्ने शताब्दीऔं पुराना वस्तु संरक्षण अभावमा लोप हुने अवस्था छ । पुर्खाले सिर्जना गरेका धार्मिक र सांस्कृतिक प्रतिविम्बका रूपमा सम्पदाहरू ठडिएका हुन । यस्ता सम्पदाको प्रांगणमा केही क्षण सुस्ताउँदा मात्रै पनि शारीरिक तथा मानसिक थकान मेटिन्छ, मन शान्त र आनन्दित हुन्छ । इतिहासको कला र संस्कृतिको सम्झना गराउँछ । सांसारिक तृष्णा मेटाउने चाहना र लोककल्याणकारी भावनाले सिर्जना गरिएका यी सम्पदालाई जताबाट केलाए पनि महत्व कम छैन ।
यसले तत्कालीन सभ्यताको उच्चतम सिर्जना र शैलीलाई बोधार्थ गराउँछ । सम्पदाले सभ्यताको जीवन्त दस्तावेजको प्रमाण दिन्छ । आजसम्म पनि बाँचिरहेका सम्पदाहरू पुरातात्विक प्रमाण हुन । देशका सम्पत्ति हुन । लामो समयसम्म वातावरण र पर्यावरणको चर्को प्रभावमा सम्पदामा परे । पटकपटक आउने महाभूकम्प र अन्य प्राकृतिक प्रकोपले रत्तिभर प्रभाव पार्न सकेन ।
तर यसरी इतिहास बोके पनि अब थाम्न सक्ने अवस्थामा छैनन् । जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेका पुराना सम्पदा देशभर सबै छन् । तर, ध्यान यता केन्द्रित गर्ने फुर्सद सरकारलाई छैन । जब ढल्छ, विपत् आउँछ, चोरी हुन्छ अनि मात्रै झस्कने बानी छ । संरक्षण र विकास गर्न बनेका समितिहरू राजनीतिक कार्यकर्ता भर्ति गर्ने स्थान बनेका छन । उनीहरूको ज्ञान र सीपमा दक्षता नहुँदा विकासको साटो विनाश हुने क्रम तीव्र छ । ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको आम्दानी यसै क्षेत्रमा खर्च नगर्दा पहिले जे थियो, त्यसमै सीमित बन्नुपर्ने अवस्था छ ।