कलैया,संविधान दिवस बारामा पनि उल्लासका साथ मनाइएको छ । दिवसका अवसरमा बाराका विभिन्न स्थानमा दीप प्रज्वलन, प्रभातफेरि, दिपावली, वृक्षरोपण र झण्डोत्तोलन गरिएको छ ।
जिल्लास्थित सरकारी कार्यालयले मात्र नभई पालिका र अन्य कार्यालय, स्थानीय संघसंस्था र स्थानीयबासीले समेत उल्लासका साथ संविधान दिवस मनाएका छन् । कलैयामा जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा वृहत् प्रभातफेरि निकालिएको थियो ।प्रभातफेरिमा बाराका जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, प्रहरी उपरीक्षक महेन्द्र खड्कालगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीलगायत उपस्थित थिए । प्रभातफेरीलगत्तै सिद्धेश्वर मन्दिरमा वृक्षरोपण गरिएको थियो ।यता जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नुभएको थियो ।
पचरौता नगरपालिकामा नगर प्रमुख जलान्धर सिंहले झण्डोत्तोलन गर्नुभएको थियो थिए भने कार्यालयमा दीपावली गरिएको थियो । यसैगरी कोल्हबी नगरपालिकाले प्रभातफेरीको आयोजना गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले कलैयास्थित भरत चोकमा दिपावली गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को कार्यालयले दीपावली गरेको छ । कार्यालय परिसरमा आयोजित दिपावलीमा वडाध्यक्ष हरिदेव खरेलगायत उपस्थित थिए । सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको कार्यालयमा पनि झण्डोत्तोलन गरिएको छ ।
संविधान दिवसको अवसरमा लायन्स क्लब अफ निजगढ युथद्वारा वृक्षारोपण र झन्डोत्तोलन
निजगढ,लायन्स क्लब अफ निजगढ युथले संविधान दिवसको उपलक्ष्यमा बिहीवार वृक्षारोपण तथा झन्डोत्तोलन कार्यक्रमको आयोजना गरेको छ ।निजगढ नगरपालिका–९ स्थित सहिद हिरालाल रगंशालामा युथले झन्डोत्तोलन तथा विरुवा रोपेको हो ।कार्यक्रममा युथका प्रेसिडेन्ट अविनाश सापकोटा, पहिलो भाईस प्रेसिडेन्ट राजकुमार श्रेष्ठ, तेश्रो भाईस प्रेसिडेन्ट जगतबहादुर न्यौपाने, क्लबका सेक्रेटरीमा प्रमोद न्यौपाने, ट्रेजर इराज कोइराला, पूर्वप्रेसिडेन्ट सुदर्शन दंगाललगायत युथका सदस्यहरुको सहभागिता रहेको थियो ।
संविधान संशोधन गरी अघि बढ्नुपर्छ : मुख्यमन्त्री सिंह
जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको छ ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले संविधान दिवसको अवसरमा बिहीवार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विरोध र समर्थनका बिचमा जारी भएको संविधानमा यदि केही त्रुटि छ भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने उहाँको तर्क छ ।संविधानमा आवश्यकता ठानेर नै देशमा दुई ठुला दल एक ठाउँमा आएको भन्नुहुँदै संविधानबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी त्रुटिका विषय वस्तुलाई पहिचान गरेर संशोधन गरी अघि बढ्न सकिने उहाँले बताउनुभयो । उहाँले सङ्घीयता विभिन्न खालको आन्दोलनबाट प्राप्त भएकाले यो कसैले भन्दैमा समाप्त नहुने दाबी गर्नुभयो । उहाँले सङ्घीयता आएको सात वर्ष मात्रै भएको र प्रदेशले अधिकारहरू प्राप्त गरिरहेकाले हतार गर्न नहुने धारणा राख्नुभयो ।


















