निजगढ,अभियान्ता रविराज दङ्गालले निजगढमा सुरु गरेको ‘निजगढ सिटी एभोकार्डो सिटी’ अभियानको प्रगति विवरण आइतवार सार्वजनिक गरिएको छ ।निजगढस्थित होटल हाइवेमा पत्रकार सम्मेलनमार्फत अभियानको प्रगति विवरण सार्वजनिक गरिएको हो ।पत्रकार सम्मेलनमा दङ्गालले समाजमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफूहरुले अभियान सुरु गरेको र अभियान विशुद्ध सामाजिक भएको बताउनुभयो । उहाँले निजगढलाई एभोकार्डो सिटीको रुपमा विकास गर्ने उद्देश्यका साथ अभियान सुरु गरिएको पनि बताउनुभयो । अभियानअन्तर्गत निजगढका प्रतेक घरमा २ थानको दरले २५ हजार एभोकार्डोका विरुवा रोप्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।अभियान्ता दङ्गालले एभोकार्डोको गुणकारी फल भएकोले आफैले घरायसी प्रयोग गर्न र बिक्री गरेर फाइदा पनि लिनसक्ने बताउनुभएको छ । ‘यसबाट स्थानीयको पोषण स्तरको सुधारसंगै आर्थिक अवस्थमा पनि सुधार आउनेछ ।’ उहाँले भन्नुभयो ।हालसम्म निजगढ नगरपालिका वडा नम्बर ३, ५, ८, ९ र १२ मा करिव २ हजार ८ सय ९० घरधुरीमा २ वटाको दरले ५ हजार ७ सय ८० थान एभोकार्डोको विरुवा वितरण गरिएको पनि जानकारी दिनुभयो ।कार्यक्रममा दिइएको जानकारी अनुसार अभियानअन्तर्गत हालसम्म ४ लाख ७२ हजार ४४१ रुपैया आम्दानी र ६ लाख १० हजार ५०० रुपैया खर्च भएको छ । अभियान सफल पार्न विभिन्न दाताहरुले आर्थिक र विरुवा सहयोग गरेको अभियान्ता दङ्गालले सो अवसरमा जानकारी दिनुभयो ।