रौतहट,सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रेता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९,८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने भनिएको रकम हालसम्म पनि नपाएपछि उखु बिक्रेता किसान चिन्तित बनेका हुन् ।सरकारले उक्त आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले प्रतिक्विन्टल ५४० रुपियाँ र सरकारले ७० रुपियाँ गरी किसानलाई प्रतिक्विन्टल ६१० रुपियाँ भुक्तानी गर्ने सहमति भएको थियो ।गढीमाई नगरपालिका– २ का उखु उत्पादक किसान कामेश्वर सहनीले सहमतिबमोजिम पाउनुपर्ने अनुदानको करिब तीन लाख रुपियाँ हालसम्म नपाएको गुनासो गर्नुभयो । रकम भुक्तानी नहुँदा अन्य खेती गर्न र घरव्यवहार चलाउन समस्या भएको उहाँ बताउनुहुुन्छ । गरुडा नगरपालिकाका उखु उत्पादक किसान नरेन्द्र ठाकुरका अनुसार नगदे बालीका रूपमा सरकारले नै वर्गीकरण गरेको उखुको अनुदान मूल्य समयमा भुक्तानी नहुँदा जिल्लाका सम्पूर्ण उखु उत्पादक किसान समस्यामा परेका छन् । उहाँले अनुदानवापतको दुई लाख रुपियाँ पाउनुभएको छैन । उखु खरिद गर्ने उद्योगले उखुको मूल्य भुक्तानी गरिसकेको छ तर सरकारबाट पाउनुपर्ने रकम मात्रै बाँकी रहेको स्थानीय किसानको भनाइ छ ।चिनी उत्पादक उद्योगले किसानसँग खरिद गरेको उखुको तथ्याङ्क समयमा सरकारलाई उपलब्ध नगराएको कारण अनुदानको रकम वितरणमा ढिलासुस्ती भएको जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादवले बताउनुभयो । उहाँका अनुसार सङ्घले उखुको तथ्याङ्क पठाउन उद्योगलाई ताकिता गरिरहेको छ ।सरकारले अनुदानबापतको रकम समयमा भुक्तानी नगर्नु र उद्योगले कम मूल्यमा उखु खरिद गर्न खोज्दा जिल्लामा पछिल्लो समय उखुखेतीप्रति किसानको आकर्षण घटेको छ ।उत्पादक सङ्घका जिल्ला सचिव सफिन्द्र यादवको भनाइ छ । उहाँका अनुसार जिल्लाको ठुलो चिनी उद्योग श्रीराम सुगर मिल्स बन्द भएको कारण किसानले सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग र जिल्लामै रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल्स उद्योगलाई उखु बिक्री गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here