गोकुल घोरसाइने
निजगढ,पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोप लागेका प्रदेश सभा सदस्य प्रमोद जयसवाल बयानको लागि निकुञ्ज कार्यालयमा हाजिर भएका छन । उनीसँग निकुञ्जका अनुसन्धान अधिकारीले मंगलबार बयान लिएका छन् । सोही घटनाको आरोपमा बयानको लागि पुगेका गाउँपालिका पूर्वअध्यक्ष प्रदीप जयसवालको बयान लिन भने बाँकी रहेको आरक्ष कार्यालय आधाभार बाराले जनाएको छ ।मधेस प्रदेश सभा सदस्य प्रमोद जयसवालसँग बयान लिएको तर र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष जयसवालको बयान भने मंगलवारको लागि बाँकी रहेको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिनुभयो । ‘प्रदेश सभासद जयसवाल र उहाँका भाइ बयानको लागि निकुञ्जमा हाजिर हुनुभएको छ, सूचना अधिकारी खडकाले भन्नुभयो, अनुसन्धान अधिकृतले प्रदेश सभा सदस्यको बयान लिएको तर समय नपुगेर गाउँपालिका पूर्वअध्यक्ष जयसवालसंग भने पुरा बयान लिन भ्याइएन ।’ बाँकी बयान बुधवार लिइने सूचना अधिकारी खडकाले जानकारी दिनुभयो ।प्रमोद ४ मंसिरको चुनावमा पर्सा क्षेत्र नं. ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।निकुञ्जको टोलीले मधेश प्रदेशसभा सदस्य प्रमोद जयसवालको नाममा रहेको फार्म हाउसमा गाडेको अवस्थामा चित्तलको टाउको, गोली गठ्ठा, नाइट भिजन बाइनाकुलर लगायत शिकारमा प्रयोग हुने सामग्री बरामद गरेको थियो ।शिकार खेल्न जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्र २–०२–०३–००१ च ३०९० नम्बरको गाडी प्रयोग भएको निकुञ्ज स्रोतको दाबी छ । जयसवाल इन्टरप्राइजेज सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवालको नाममा दर्ता छ ।४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र शिकारी टोलीबीच अकुवनियास्थित आरक्षको कोर जंगलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको र केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए ।सिकारी टोलीलाई पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर शिकारमा प्रयोग हुने थप सामग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यसदिन शिकारमा संलग्न रहेको आरोपमा पाँच जनासहित दुईवटा गाडी, शिकार खेल्न प्रयोग हुने सामग्री, शिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउको लगायत सार्वजनिक गरेको थियो ।अनुसन्धानका लागि काठमाडौं क्षेत्र नं ५ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा कांग्रेस नेता श्याम खड्कालाई पनि निकुञ्जले बोलाएको छ । खड्काको नाममा रहेको बन्दुक शिकारीको टोलीबाट बरामद भएपछि उनलाई पनि अनुसन्धानका लागि बोलाइएको छ ।काठमाडौं घर भएका खड्काको पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ अकुवनियामा माछा पोखरी छ । उनी भने मंगलबार बयानका लागि उपस्थित भएनन् । शिकारीको टोलीसँग बरामद गरेको हतियार भने अनुसन्धानका लागि निकुञ्जले पर्सा प्रहरीको जिम्मा लगाएको छ । प्रदेश सभा सदस्य खडका भने अझै बयानको लागि उपस्थिति नभएको आरक्ष कार्यालयले जनाएको छ ।



















