नरेश गुप्ता

बरियारपुर,बारामा तरकारीको मूल्य आकासिएपछि उपभोक्ताहरु मारमा परेका छन । बिगत लामो समयदेखि पानी परिरहेकोले तरकारी उत्पादनमा कमी आएपछि तरकारीको मूल्य एक्कासी बढेको व्यापारीहरुले बताएका छन ।

बिगतको वर्षको तुलनमा यस वर्ष वर्षा धेरै भएपछि खेतबारीमा लगाइएको तरकारीको उत्पादन घटेको महगढीमाई नगरपालिका वडा नम्बर १ का तरकारी कृषक शिवचन्द्र महतोले बताउनुभयो । परवल, भन्टा, टमाटर, लौका, भिन्डी, करैला लगायतका तरकारी नेपालका अन्य जिल्ला र भारतबाट ल्याइने भएकोले व्यापारीले चर्को मूल्य लिएर बिक्री गरिरहेको नेकपा एमाले निकट युवा संघ कलैयाका अध्यक्ष हरिओम साहले बताउनुभयो ।

तरकारी खेतीको लागि प्रसिद्ध सिम्रौनगढ, खजानी लगायत आसपासको क्षेत्रमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य बढेको व्यापारीहरुले बताएका छन । बाराको बरियारपुर, गंन्जभवानिपुर, कोल्हबी, सिम्रौनगढ, बघवन, सदरमुकाम कलैया र निजगढलगायतको बजारमा लाग्ने हाटबजारमा तरकारीको मूल्य बढेपछि चर्को मूल्य तिरेर किन्नु परेको उपभोक्ताले बताएका छन । स्थानीय हाटबजारमा हाल प्याज प्रतिकेजी ६०, परवल प्रतिकेजी ८०, घिरौला प्रतिकेजी ६०, भिन्डी प्रतिकेजी ७०, करेला प्रतिकेजी रु ७०, आलु प्रतिकेजी ४० मा बिक्री भइरहेको छ । मौसमी तरकारीको उत्पादन हुने अहिलेको बेलामा मूल्य अकासिएपछि उपभोक्ताहरु चर्को मूल्य तिरेर तरकारी खरिद गर्न बाध्य भएका छन ।

Leave a Reply