पुष्पराज खतिवडा
बारा,बारा जिल्लामा आत्माहत्या गर्नेको संख्या पछिल्ला वर्षहरुमा कहाली लाग्दो रुपमा बढेको देखिएको छ ।
विगत ३ वर्षको तथ्याङ्क हेर्दा आत्माहत्या गर्नेमा बालिका र महिलाको संख्या अधिक छ । यस अवधिमा ४२३ जनाले आत्माहत्या गरेका छन् । जसमा महिलाको संख्या १६१ र ८० जना बालिका छन् ।त्यसैगरी आत्माहत्या गर्ने पुरुषको संख्या पनि उत्तिकै बढेको देखिएको छ तर बालकहरुको संख्या बालिकाको तुलनामा कम देखिन्छ । विगत ३ आर्थिक वर्षमा १५९ पुरुष र २३ जना बालकहरुले आत्माहत्या गरेको बारा प्रहरीले हालै सार्वजनिक गरेको बार्षिक घटना विवरणमा उल्लेख छ ।
बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने आत्माहत्याका घटना भयावहक रुपमा बढिरहेको बताउनुहुन्छ । मान्छेले आफ्ना अपेक्षा पुरा गर्न नसक्दा विरक्तिएर आत्माहत्या गर्ने गरेको उहाँको भनाई छ ।“यस्ता घटनामा महिलाहरु र बालबालिका बढी देखिएका छन् । पारिवारिक कलह, घरेलु हिंसा, अभाव झेलका र कतियप सामान्य अवस्थाका मनिसले समेत यो बाटो रोजेको पाईयो, उहाँले भन्नुभयो ‘आत्माहत्या गर्नेमा १० बर्षका बालकदेखि ६५÷७० वर्षसम्मका मानिस छन् ।”
बालबालिकाले समेतले आत्माहत्या गर्ने अवस्था आउनु आफैंमा गम्भीर विषय हो भएको उहाँको भनाई छ । “घाँटीमा पासो लगाएर प्राणत्याग गर्नेहरुको तुलनामा विष सेवनका घटना कम छन् । तर विष सेवनपछि ८० प्रतिशत मानिसलाई अस्पतालमा लगेर उपचार गराउँदा बाँचेको पाइएको पनि उहाँले जानकारी दिनुभयो । विष सेवन गर्ने सबैको मृत्यु हुने हो भने आत्महत्याको अवस्था अझै कहाली लाग्दो हुने उहाँले बताउनुभयो ।परिवारमा उपयुक्त वातावरण नपाउँदा आत्माहत्याका घटना बढेको भन्दै प्रहरी उपरीक्षक न्यौपानेले जिल्लाको कुनै एक ठाँउमा एउटा त्यस्तो घटना भएपछि अर्को ठाँउमा पनि त्यस्तै प्रकृतिको आत्माहत्याको घटना हुने गरेको पाइएको सुनाउनुभयो ।
जिल्लाका आत्माहत्या सम्बन्धि घटनाहरुको अध्ययन गरिरहनुभएका मानव अधिकारकर्मी विदुर खड्का मान्छेको दिमागले जिउने सबै विकल्प सक्किएको बुझेपछि शुन्यतामा पुग्ने र उसले आत्माहत्याको बाटो समाउने बताउनुहुन्छ । त्यसैगरी मान्छेले सबैभन्दा बढी महत्व दिएको कुनै कुरा गुमाउँन पुगेको अवस्थामा पनि निराश भएर आत्माहत्याको बाटो समाउने उहाँको भनाई छ ।आत्माहत्या गर्र्नुपूर्व मान्छेले अस्वभाविक क्रियाकलाप प्रदर्शन गर्ने मानवअधिकारर्मी खडकाले बताउनुभयो । ‘एक्लै बस्ने, कसैसँग नबोल्ने, बेसुरका कुरा गर्ने जस्ता हर्कत गर्छन्, उहाँले भन्नुभयो, त्यस्तो अवस्थामा परिवारका सदस्यले उचित मनोपरामर्श दिन सकेको अवस्थामा जोगाउन सकिन्छ ।’ त्यस्ता लक्षण देखिएको अवस्थामा पारिवारका अन्य सदस्यले निगरानीमा राखेर उचित परामर्श दिनुपर्ने उहाँको भनाई छ ।
















