कलैया,उखु उत्पादक कृषकहरुले अब स्थानीय तहमा कृषक दर्ता गर्नुपर्ने भएको छ । कृषि विभाग हरिहरभवन, ललितपुर र कृषि ज्ञान केन्द्र कलैया, बाराको पत्रानुसार स्थानीय तहले कृषक दर्ताका लागि सूचना प्रकाशन गर्ने र सोही सूचनाको आधारमा कृषकहरुले दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको हो ।उखु उत्पादक कृषकहरुलाई कृषक दर्ताको लागि नेपाल सरकारवाट स्वीकृत उखु कृषकहरुलाई अनुदान दिने सम्वन्धी कार्यविधी, २०७५ बमोजिम उखु खेती गर्ने कृषकहरुले भदौ महिनाको ६ गतेभित्र दर्ताका लागि आवेदन दिनुपर्नेछ ।दर्ता गर्न कृषकको नागरिकताको प्रतिलिपि, उखु, खेती भएको जग्गाको लालपुर्जाको प्रतिलिपि, भाडामा लिई खेती गरेको जग्गाको हकमा भाडा सम्झौताको पत्र, सम्वन्धित वडा कार्यालयको सिफारिस पत्रमा उखु खेती गरिएको क्षेत्रफल, चार किल्ला प्रमाणित विवरण र अनुमानित उखु परिमाण खुलाएको हुनुपर्ने । साथै सम्वन्धित कृषकको बैकको नाम, शाखा कार्यालय र खाता नम्बर सम्वन्धी विवरण उल्लेख गरेर आवेदन दिनुपर्ने बताइएको छ ।




















