काठमाण्डौं,रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणको क्रममा आज नयाँ दिल्ली ओर्लिएका छन् । उनको विमान स्थानीय समयअनुसार साँझ ६ः३५ बजे अवतरण भएको हो ।पुटिनको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका छन् । उनले पालम विमानस्थलमा पुटिनलाई स्वागत गरेका हुन् ।
स्वागतपछि एउटै गाडीमा सवार भएर पुटिन र मोदी विमानस्थलबाट निस्केका थिए ।आजै साँझ मोदीले पुटिनलाई निजी रात्रीभोज दिँदैछन् । उनीहरूबीच शिखर बैठक भने शुक्रबार हुनेछ ।दुई देशबीच हुने शिखर सम्मेलनकमा कैयौँ सम्झौताहरूमा हस्ताक्षर हुने तयारी रहेको भारतीय संचारमाध्ययमहरुले जनाएका छन् । अमेरिकाले रुसी तेल खरिद रोक्न भारतमाथि दबाव दिएको केही समयमै रुस र भारतबीच सम्झौताहरू हुन लागेका हुन् ।
अहिले भारतसँग अमेरिकाको सम्बन्ध विग्रिएको छ । भारतबाट आयात हुने सामाग्रीमा अमेरिकाले ५० प्रतिशत कर लगाएको छ । यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्ने प्रयासमा रुस र युक्रेनसँग शृङ्खलाबद्ध वार्ता गरिरहेको बेला पुटिन भारत आएकाले यो भ्रमणलाई अमेरिका सहित विश्व समुदायले चासोका साथ हेरेको छ । सन् २०२२ मा युक्रेनसँग युद्ध शुरू भएपछि पुटिन पहिलोपटक भारत आउनु भएको हो ।
भोलि दिल्लीमा रहेको भारत मण्डपममा आयोजित इन्डिया–रुस बिजनेश सम्मेलनलाई पुटिन र मोदीले सम्बोधन गर्नुहुने छ । सम्मेलनमा सुरक्षा सम्बन्ध प्रवद्र्धन, व्यापार सम्बन्ध प्रवद्र्धन, विदेशी हस्तक्षेपबाट जोगिने विषयबारे छलफल हुनेछ । भारत र रुसले वर्षेनी आलोपालो यो सम्मेलन आयोजना गर्दै आएका छन् ।



















