सिमरा,जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा तत्काल ट्रमा सेन्टर सन्चालन गर्न माग गर्दै इलाका प्रशासन कार्यालय सिमरामार्फत मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई शुक्रवार माग पत्र बुझाएको छ ।सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले निमित्त कार्यालय प्रमुख ताराप्रसाद आचार्यमार्फत मुख्य मन्त्री गद्दीलाई मागपत्र बुझाएको हो । मागपत्रमा मधेस प्रदेश सरकारले प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा सन्चालन गर्ने तयारी गरेको ट्रमा सेन्टर सन्चालन हुन नसक्नु दुःखको कुरा हो भनिएको छ ।प्रदेश सरकारले बिगत ३ वर्षदेखि ट्रमा सेन्टर सन्चालनका लागि बजेट बिनियोजन गर्दै आएको र मुख्यमन्त्री गद्दी सहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरि तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइएको भए पनि हालसम्म ट्रमा सेन्टर स्थापनाकोे काम अझैसम्म पनि अघि बढन सकेको जनाइएको छ ।पूर्वश्चिम लोकमार्ग र त्रिभुवन राजपथको संगम स्थलको रुपमा रहेको पथलैयामा ट्रमा सेन्टर निर्माण नहुँदा यस क्षेत्रको सडक दुर्घटनामा परि घाइते हुनेहरुको उपचारमा समस्या परेको र अकालमा धेरैले ज्यान गुमाउनु परेको भन्दै तत्काल सेन्टर स्थापनाको काम सुरु गर्न माग गरिएको छ ।सरोकार समितिले मधेस प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई सम्बोधन गरि पठाइएको माग पत्रमा भौतिक पूर्वाधार सम्पन्न प्रदेश स्वास्थ्य तालिम केन्द्र पथलैयामा ट्रमा सेन्टर सन्चालन नगरिए आन्दोलनमा उत्रन बाध्य हुने चेतवानी पनि दिएको छ ।माग पत्रमा नेकपा एमालेका नेता तथा सरोकार समितिका संयोजक मनोज पौडेल, नेपाली काङ्ग्रेसका जीतपुरसिमरा नगर सभापती तथा सरोकार समितिका सदस्य छविलाल शर्मा, राष्ट्रिय जनमोर्चाका नेता तथा सरोकार समितिका सदस्य कर्ण थापा, समाजसेवी एंव संचारकर्मी बिदुर खडकाको हस्ताक्षर छ ।
Home मुख्य समाचार जीतपुरसिमरा सरोकार समितिद्वारा पथलैयामा ट्रमा सेन्टर सन्चालनको माग गर्दै मुख्यमन्त्री गद्दीलाई...


















