कोल्हवी,कोल्हवी नगरपालिका– ८ नयाँ बस्तीस्थित जंगलमा घाँस काट्न गएकी एक महिलालाई वन रक्षकको समूहले दुव्र्यवहार गर्दै निर्घात कुटपिट गरेपछि स्थानीहरू विरोधमा उत्रिएका छन् ।आक्रोशित स्थानीयहरू र पीडित परिवारले वन रक्षकलाई कारबाही गर्नुपर्ने माग गर्दै कलैयामा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार नाराबाजी गरेका हुन ।कोल्हवी नगरपालिका– ८ नयाँ बस्तीकी ३० वर्षीया हर्कमाया खड्का, २८ वर्षीया हेमकुमारी श्रेष्ठ र ३३ वर्षीया सीता श्रेठमाथि कोल्हवी नगरपालिकाअन्तर्गत वडा ५ को जंगलमा आइतबार बिहान वन रक्षकहरुले निर्घात कुटपिट गर्दै दुव्र्यवहार गरेका थिए ।सोही घटनाको विरोधमा स्थानीयहरू आन्दोलित बनेका हुन् । ‘बस्तीभन्दा २ किमी भित्रपट्टी घाँस काट्न गएका थियौं,’ पीडित महिला हर्कमायाले भन्नुभयो, ‘वन रक्षकहरू जाइलागे । प्रतिकारमा उत्रेपछि जंगलमा किन आएकी भन्दै मरणासन्न हुने गरी कुटपिट गर्दै हिँड्नै नसकिने अवस्थामा पु¥याइदिए ।’ हर्कमायाका अनुसार बचाउन आउने अरु दुई महिलामाथि पनि रक्षकहरूले दुव्र्यवहार गर्दै कुटेका थिए ।‘न्याय पाउनुपर्छ भन्दै कोल्हवी प्रहरीमा जाँदा सुनुवाइ भएन । अरुको साहारमा कलैया गए पनि वन कर्मचारी, प्रशासन र हामी पीडितबीच छलफल हुँदा घटना सामसुम गर्न खोजिएको छ,’ उहाँले भन्नुभयो । डीएफओ र स्थानीय प्रशासकले भने वन रक्षकमाथि विभागीय कारबाही गर्ने जनाएका छन् । तर पीडित महिलाहरूले विभागीय कारबाही नभएर कसुरअनुसारको कानुनी कारबाही हुनुपर्ने माग गरेका छन् ।मधुवन वन सेक्टर कार्यालयअन्तर्गत पर्ने वडा ५ को बोधवन माछागाउँको उत्तरपट्टी रहेको सेक्टर वन इकाइ कार्यालयका वन रक्षकहरुले महिलाहरुमाथि दुव्र्यवहार गर्दै जंगल किन आएको भन्दै कुटपिट र दुर्व्यवहार गरेको वडा ८ का वडाध्यक्ष अनुप सुवेदीले बताउनुभयो । उहाँका अनुसार हर्कमायाको शरीरभर लठ्ठीले पिटेको नीलडाम छ । हेमकुमारीलाई लछारपछार गरिएको र सीतालाई गालीगलौज गरिएको उहाँले बताउनुभयो ।उहाँका अनुसार पाँच जनाको समूहमा रहेका वन रक्षकमध्ये ३ जना मुखमा पट्टी बाँधेर सादा पोसाकमा र २ जना बर्दीमा आएका थिए । सादा पोसाकका वन रक्षक रामतपश्या साह, प्रदीप शर्मा र ढालबहादुर कार्कीले महिलालाई कुटपिट गरेको वडाध्यक्ष सुवेदीले दाबी गर्नुभएको छ ।वडाध्यक्ष सुवेदीले सोमबार छलफलमै समय बितेकाले निवेदन दर्ता गराउन नसकिएको बताउनुभयो । जिल्ला वन कार्यालयका प्रमुख विनोद सिंहले भने महिलाहरू वनमा गैरकानुनी रुपमा लाथ्रा काट्न गएको बेला वन रक्षकहरुले कुटपिट गरेको स्वीकार गर्नुभयो । ‘कुटपिट गरेर गल्ती गरेका छन्,’ उहाँले भन्नुभयो, ‘विभागीय कारबाही गर्न सिफारिस गर्छु । महिलामाथि निर्घात कुटपिट गरिएको छ ।’



















