काठमाण्डौ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनु भएको छ ।महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि पालिका तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताउनु भएको हो । नेपाली कांग्रेस मकवानपुर–काठमाण्डौ सम्पर्क समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले देश संकटमा रहेको बेला सरकारले त्यसलाई महसुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पार्नु भयो ।महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे देश झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले राम्रो काम गर्दै गए ३÷४ महिना भित्रै देश सम्हालिँदै जाने उहाँको भनाइ थियो ।महामन्त्री थापाले २०८० सालमा नेपाली काँंसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताउनु भयो । उहाँले २०८० सालको जेठ अन्तिम हप्ता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो ।महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।यस्तै महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिनु भयो ।



















