जसले जे भनेपनि र जति राजनीतिक दलहरुलाई सरापे पनि राजनीतिक दलले नै देश चलाउने हो र चलाइ रहेका छन् । अहिलेका लागि राजनीतिक दलको विकल्प देश चलाउनका लागि छैन ।फरक यति हो कि कुन राजनीतिक दल भन्ने चैं होला र लोकतन्त्रमा राजनीतिक दल छान्ने अधिकार जनतामा निहित छ नै । देश बनाउने राजनीतिक दल अनि समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी दुबै देशका लागि अति नै आवश्यक छन् । दुबैको समन्वयमा मात्रै देशका समस्याहरु समाधान हुनेछन् ।स्थानीय स्तरमा पनि त्यही हो । राजनीतिक दलहरुको पनि जिल्ला तहमा संयन्त्र छ र प्रहरीको पनि छ । स्थानीय तहमा रहेका यी दुबैको आपसी सहयोगले मात्रै जिल्लाको समस्या समाधान हुने हो । यदि दुबैमा कटुता आयो भने यसले जिल्लामा पनि ठूलो असर पार्दछ । अहिले बारामा यस्तै भएको छ । बारामा क्रियाशील दुई राजनीतिक पार्टीका जिल्ला तहका नेतामाथि प्रहरीले कुटपिट गरेको छ र जसका कारण प्रहरी र राजनीतिक दलको सम्बन्ध अहिले बिग्रिएको छ । नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ताहरुले एक सातादेखि कलैयामा प्रदर्शन गर्दैआएका छन ।प्रहरीको आवेगमा नै यो घटना भएको देखिन्छ । तथापि प्रहरीले छानबिन समिति बनाएकाले यसको सत्य कुरा बाहिर आएर दोषि अवश्य नै कारबाहीको भागीदार हुने नै छन् ।प्रहरीका कारण कसैको ज्यान आज धरापमा पर्छ भने त्यो क्षम्य हुने कुरै भएन । लोकतन्त्रमा प्रहरी जनताको साथी हो । प्रहरी पनि नेपाली दाजुभाइ नै हुन् । त्यसैले बारामा हालै भएको प्रहरी र राजनीतिक दलको घटना एकदमै दुःखद छ र यस्ता घटना फेरि नहोदोरियोस् भनेर सबै पक्षले आफ्नो ठाउँबाट सचेतना अपनाउन भने आवश्यक देखिन्छ ।यसैबीच कलैयाबाट सुखद खबर पनि आएको छ । आन्दोलनकारी र स्थानीय प्रशासनबीच आज सहमति भएपछि प्रहरी विरुद्धको आन्दोलन फिर्ता भएको छ । दोषिमाथि कारबाही, घाइतेको उपचार खर्च सरकारले बेहोर्नेलगायत ४ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो ।
















